मणिपुर हिंसालाई लिएर राष्ट्रसङ्घमा भारतको आलोचना

१९ भाद्र २०८०

१९ भाद्र, स्वच्छखबर, भारत।  मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना भएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले मणिपुरमा भएका हिंसात्मक घटना एवं यौनलगायत अन्य दुव्र्यवहार नियन्त्रण गर्न भारतले गम्भीर भएर प्रतिकार्य नगरेको भन्दै केन्द्रीय नेतृत्वको आलोचना गरेका हुन् ।

भारतको उत्तरपूर्वी राज्यमा जातीय द्वन्द्वका बीच यौन हिंसासहित मानव अधिकार उल्लङ्घनका गम्भीर घटना भएका र तिनलाई नियन्त्रण गर्न तथा दोषीमाथि कारबाही गर्न सरकारले तत्काल तदारुकता नदेखाएको तथा हिंसा रोक्न ढिलो प्रतिकार्य गरेको भन्दै राज्य र केन्द्र सरकारको उनीहरूले आलोचना गरेका हुन् ।

मणिपुर हिंसालाई लिएर महिला तथा बालिकाविरुद्ध हिंसा र यातनासम्बन्धी २० जना विशेष प्रतिवेदकले मणिपुरमा मे महिनामा झडप सुरु भएदेखि एक सय ६० जनाले ज्यान गुमाएका, तीन सय जना घाइते भएका, दशौँ हजार विस्थापित हुनुपरेको, हजारौँ घर र सयौँ गिर्जाघर जलाएका तथा खेतीयोग्य जमिन ध्वस्त पारिएको बताएका छन् ।