गोदावरी-१४ बाडेगाउँमा हुने ’श्रीमद् भागवत विराट ज्ञान महायज्ञ’ को तयारी पुरा

१९ भाद्र २०८०

१९ भाद्र, स्वच्छखबर,  गोदावरी । मामाघर अनाथालय आश्रमको सहयोगार्थ ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ बाडेगाउँ हुन लागेको महायज्ञको तयारी पुरा भएको छ।

भदौ २० गते देखि ३० गते सम्म ललितपुर गोदावरी धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक ’श्रीमद् भागवत विराट ज्ञान महायज्ञ’ गर्ने तयारी गरिएकोमा त्यसको सम्पूर्ण तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। जसमा मुख्य कथा बाचीकाको रुपमा प्रसिद्ध कथावाचिका गरिमा उपाध्याय  र उमा महेशवरीले प्रवचन गर्ने कार्यक्रम रहेको छ।

गोदावरी धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद् भागवत विराट ज्ञान महायज्ञ २०८० को भदौ २० गते श्रीकृष्ण जन्माष्टमीका दिन बिहान ७ बजे गोदावरी कुण्डबाट बाजागाजा र सांस्कृतिक झाँकीहरुसहित भव्य बिशाल कलश यात्रा गरिनेछ ।

महायज्ञमा सकलिंत रकमबाट गोदावरी नगरपालिका वडा ३ ललितपुरमा निर्माण हुने देश भरीका अनाथ बालबालिकाहरूको आश्रय स्थल नेपालकै नमुना मामाघर अनाथ आश्रम, वृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, अन्न क्षेत्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, खेल मैदान, सन्त निवास, प्रवचन हल, गौशाला आदि निर्माण तथा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले गोदावरी धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद् भागवत विराट ज्ञान महायज्ञ सञ्चालन हुन लागेको आयोजकले जनाएको छ । महायज्ञको प्रमुख संरक्षकमा गोदावरी नगरपालिका वडा नम्बर तिनका वडाध्यक्ष सानुराजा घिमिरे तथा सह संरक्षकमा वडा नम्बर १४ का अध्यक्ष निरोज बज्राचार्य रहेका छन् ।

देश तथा विदेशबाट विभिन्न साधुसन्त, राजनेताहरुको सहभागिता रहने उक्त महायज्ञमा ख्याति प्राप्त कलाकारहरूबाट भक्ति सङ्गीत, झाँकी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने गोदावरी वडा नम्बर तीनका अध्यक्ष सानुराजा घिमिरेले जानकारी दिए । मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको चासो र खोजी गर्न चाहने विभिन्न धार्मिक आस्था रहेका व्यक्तिहरूका लागि उक्त महायज्ञ कोशेढुङ्गा साबित हुने उनले विश्वास व्यक्त गरे । महायज्ञले गोदावरीको धार्मिक पर्यटनमा समेत सहयोग पुग्ने वडाध्यक्ष घिमिरेले विश्वास व्यक्त गरे ।

आगामी दिनमा अनाथहरु अनाथ बन्न नपोरोस् भन्ने उद्धेश्यले संचालन हुन लागेको यस महायज्ञमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने समेत वडाध्यक्ष घिमिरेले जानकारी दिए ।