देशभरिको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयलाई दिइने

१९ भाद्र २०८०

१९ भाद्र, स्वच्छखबर,  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार प्रधानमन्त्रीले काठमाडौँको फोहर व्यवस्थापन, फोहरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गरेका हुन् ।

बैठकमा फोहरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राखेका थिए । बैठकमा बञ्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो ।

यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र त्यसका लागि कानूनी प्रबन्ध आवश्यक रहेकामा जोड दिइएको छ । बैठकमा प्रधानमन्त्री दाहालले आउँदो मन्त्रिपरिषद्को बैठकबाट देशभरिको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरि ठोस निर्णय गरिने जानकारी दिए ।

उनले भने, “सङ्घीय सरकार काठमाडौँ उपत्यकालगायत देशभरिको फोहर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ । त्यसका लागि मन्त्रिपरिषद्को बैठकबाट ठोस् निर्णय गर्नुपर्दछ । आउँदो मन्त्रिपरिषद् बैठकमा देशभरिको फोहर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिनेगरी निर्णय लिन्छौँ ।”

प्रधानमन्त्री दाहालले फोहर व्यवस्थापन सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको साँझा दायित्व भएकोमा जोड दिँदै फोहरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने उल्लेख गर्दै त्यसका लागि ठोस् गृहकार्य गर्नसमेत निर्देशन दिए ।

छलफलमा सहरी विकासमन्त्री सीता गुरूङ, नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवद्वय एकनारायण अर्याल र मणिराम गेलाल, सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत वसन्त अधिकारी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतका प्रतिनिधि उपस्थित थिए ।