पर्वतारोही आङ छिरिङ शेर्पालाई पीपी प्रसाईं ‘अचिभमेन्ट अवार्ड’ प्रदान

१९ भाद्र २०८०

१९ भाद्र, स्वच्छखबर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको पीपी प्रसाईं लाइफटाइम ‘अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार पीपी प्रसाईं फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले सो अवार्ड प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी सोही अवसरमा राष्ट्रपति पौडेलले फाउन्डेशनले सामुदायिक विद्यालयतर्फ दिँदै आएको उत्कृष्ट शिक्षक पुरस्कार पनि प्रदान गरे । जसअन्तर्गत कोशी प्रदेशबाट फिक्कलका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट कमला राई काठमाडौँ, गण्डकी प्रदेशबाट टुकादेवी आचार्य कास्की, लुम्बिनी प्रदेशबाट गोपालप्रसाद बस्याल पाल्पा, कर्णाली प्रदेशबाट जयबहादुर बस्नेत डोल्पा र सुदूरपश्चिम  प्रदेशबाट जीतबहादुर चौधरी छन् ।

उत्कृष्ट शिक्षक पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ भने विद्यालयलाई दश हजार बराबरको शैक्षिक सामग्री रहेको छ । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष शिखर प्रसाईं, सचिव दिलभूषण पाठक, पुरस्कृत शिक्षक कमला राई र जयबहादुर बस्नेत सहभागी थिए ।