जिहादी आक्रमणमा परी बुर्किना फासोमा सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु

१९ भाद्र २०८०

१९ भाद्र, स्वच्छखबर, काठमाडौँ । उत्तरी बुर्किना फासोमा सन्दिग्ध जिहादीको आक्रमणमा परी सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।

सेनाका जनरल स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणको प्रतिकार गर्ने क्रममा सोमबार सेनाका १७ सैनिक र ३६ स्वयंसेवक दलका लडाकूको मृत्यु भएको छ ।”

आक्रमणमा परेको उक्त एकाईलाई दुई वर्षभन्दा पहिले जिहादीहरूले लखेटेका बासिन्दाहरूको पुनस्र्थापनाका लागि यातेङ्गा प्रान्तको कोम्ब्री शहरमा तैनाथ गरिएको थियो । आक्रमणमा परी करिब ३० जना सुरक्षाकर्मी घाइते भएको सेनाले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “जवाफी कारबाहीमा कैयौँ आक्रमणकारीलाई ‘निष्प्रभावी’ पारिएको र उनीहरूका लडाकू उपकरणहरू नष्ट गरिएको छ भने उक्त क्षेत्रमा अहिले पनि भिडन्त जारी रहेको छ ।”

बुर्किना फासोमा सन् २०१५ मा छिमेकी मुलुक मालीमा भएको आक्रमणपछि हजारौंको ज्यान लिइसकेको जिहादी विद्रोहलाई रोक्न असफल भएको भन्दै आक्रोशित भएर गत वर्ष दुई पटक सैन्य ‘कू’ भएको थियो ।

जिहादी आक्रमणमा परी १६ हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको एक गैरसरकारी संस्थाले जनाएको छ ।

बुर्किना फासोमा पनि २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जसले गर्दा यो अफ्रिकाको सबैभन्दा खराब आन्तरिक विस्थापन सङ्कटमध्ये एक हो ।