कांग्रेसका सह-महामन्त्री यादवलाई सांघातिक आक्रमण गर्ने सापकोटा पक्राउ, कारबाही गर्न कांग्रेसको माग

२० भाद्र २०८०

२० भाद्र, स्वच्छखबर,काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । नुवाकोटको विदुर नगरपालिका–७ घर भएका ४७ वर्षीय श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेका हुन् । यादवलाई आक्रमण गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ । घटनापछि कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर भनेका छन्, ‘नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’

कांग्रेसले यादवमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरेको छ ।