गोदावरीमा विराट ज्ञान महायज्ञ सुरु,श्रममन्त्रीद्वारा अनाथालयलाई एक लाख ११ हजार दान

२० भाद्र २०८०

२० भाद्र, स्वच्छखबर, गोदावरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गोदावरी मामाघर अनाथालय आश्रमलाई रु एक लाख ११ हजार दान गर्नुभएको छ । आश्रमले आजदेखि सुरु गरेको विराट ज्ञान महायज्ञको उद्घाटन गर्ने क्रममा उहाँले आफ्नी स्वर्गीय आमाको नाममा अनाथालयलाई सो रकम दान गर्नुभएको हो ।

गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद्भागवत विराट ज्ञान महायज्ञका अवसरमा अनाथालयलाई दान गर्न पाएको भन्दै मन्त्री भण्डारीले खुसी व्यक्त गर्नुभयो । मामाघर अनाथालय आश्रमको आयोजनामा गोदावरी–१४ बाँडेगाउँमा भदौ २० देखि ३० गतेसम्मका लागि महायज्ञ सुरु भएको हो । आजदेखि प्रसिद्ध कथा वाचक गरीमा उपाध्यय र उमा महेश्वरीबाट कथा वाचन भईरहेको छ ।

महायज्ञको उद्देश्य देशभरका अनाथ बालबालिकाका लागि नेपालकै नमूना सुविधायुक्त तथा आधुनिक आश्रम बनाउने रहेको आश्रमका प्रमुख बालयोगेश्वर विजयमुर्ती महाराजले जानकारी दिनुभयो । यस्तै, गोदावरी वडा ३ का अध्यक्ष सानुराज घिमिरेले महायज्ञमा हजारौँको सङ्ख्यामा भक्तजन गोदावरीमा आउने भएकाले महायज्ञको आयोजनाबाट गोदावरीको पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।