बाल संगठनको २८ रोपनी जग्गा विशाल ग्रुपको कब्जामा

२१ भाद्र २०८०

२१ भाद्र, स्वच्छखबर, काठमाडौं । पटकपटक विवादमा तानिँदै आएको विशाल ग्रुपले सरकारी जग्गा हडपे पनि सरकारी निकाय तैं चप मैं चुपको अवस्थामा बसेको छ । राज्यका उच्च अधिकारीलाई दबाब र प्रभावमा पारेर बदमासी गरिरहेको विशाल ग्रुपका कर्तुतहरूलाई सरकारले नदेखेको झैं गरी नजरअन्दाज गरिरहेको छ ।

राणाकालमा नेपाल छिरेर त्यसबेलादेखि प्रभावमा पार्दै व्यापारको साम्राज्य खडा गरेका भारतीय मूलका व्यापारीहरूको विशाल ग्रुपले पञ्चायत, बहुदल र गणतन्त्रमा पनि विभिन्न हतकण्डा अपनाउँदै राज्यबाट दोहन गरिरहेको छ ।

विशाल गु्रप राज्यसत्तामा बसेकाहरूलाई प्रभावमा पारेर आफ्नो व्यापारलाई अस्वाभाविक रूपमा दिन दुईगुणा रात चौगुणा बढाउन माहिर रहेको छ । सेटिङ र कमिसनमा चलखेल गर्नसक्ने विशाल ग्रुपले नक्सालमा रहेको नेपाल बाल संगठनको जग्गासमेत कौडीको भाउमा स्वाहा बनाउने काम गरेको छ । बाल संगठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्यकै आडमा बाल मन्दिरभित्रको जग्गा विशाल ग्रुपको कब्जामा पुगेको हो ।

नेपाली कांग्रेसका सर्वमान्य नेता स्व. गणेशमान सिंहकी छोरी रीतासिंह वैद्यले बुबाको त्याग र समर्पणलाई समेत धक्का पर्नेगरी विशाल ग्रुपलाई जग्गा दिने प्रपञ्च रचेकी हुन् ।

जग्गा हडप्नका लागि विशाल ग्रुपले बृहस्पति विद्या सदनको नामबाट पुरुषोत्तमराज जोशीलाई अगाडि सारेको छ । जोशी बृहस्पति विद्या सदनका संस्थापक हुन् । जोशीमार्फत विशाल ग्रुपपछि मनोजकुमार मिश्रजस्ता ठूला पात्र यस लुटकाण्डमा जोडिएका छन् । सीता आवासका रूपमा रहेको १ सय १९ रोपनी १२ आनामध्ये झन्डै २९ रोपनी जग्गा विशाल ग्रुपको कब्जामा पुगिसकेको छ ।

विशाल ग्रुपले यस जग्गालाई आफ्नो मुठीमा पारेपछि उठ्न थालेका विरोधका स्वरलाई सानो पार्न विभिन्न हतकण्डा पनि रचेको छ ।

यसैलाई परिणाम दिनका लागि विशाल ग्रुपले विद्यमान कानुनलाई संशोधन गरी जग्गा सट्टापट्टा गर्ने प्रावधानसम्म ल्याउन सरकारी अधिकारीहरूलाई मोटो रकम टक्रयाइसकेको स्रोतको दाबी छ ।

विशाल ग्रुपले जग्गा कब्जामा पारेपछि बालमन्दिरभित्र आश्रय लिइरहेका अनाथ बालबालिकाको बिजोग झन गहिरिएको छ ।

२०७२ सालको भूकम्पमा बाल संगठनले चलाइरहेको आदर्श आधारभूत विद्यालयको भवनसँगै अनाथ बालबालिका बस्ने मूल भवन पनि क्षतिग्रस्त बनेपछि उनीहरूको आश्रय र पढाइका लागि टहरा नै आधार भएको छ ।

यस्तो बिजोग अवस्थामा रहेको बालमन्दिरकोे जग्गा हडप्न विशाल ग्रुप लागेको हो ।

विभिन्न सरकारी निकायमा रहेका कागजात खोतल्दा बाल संगठनले बालमन्दिर चलाउन छुट्याएको २८ रोपनी ५ आना जग्गा हडप्न मुलुककै ठूलोमध्येको व्यापारिक घराना ‘विशाल ग्रुप’ योजनाबद्ध रूपमा लागेको देखिएको हो । त्यसकै निम्ति विशाल ग्रुपले सो जग्गा झन्डै ६० वर्षका लागि भाडामा लिएको छ ।

यो जग्गा हडप्नका लागि विशाल ग्रुपले बृहस्पति विद्या सदन नामको निजी विद्यालयलाई अगाडि सारेको छ । नक्सालमा बाल संगठनको जग्गा बृहस्पतिकै लागि भनेर भाडामा दिइएको छ । बृहस्पति विद्या सदन ८० वर्ष भइसकेका पुरुषोत्तमराज जोशीले स्थापना गरेको विद्यालय हो । बृहस्पतिमा जोशी परिवारको सानो मात्र लगानी रहेको छ भने अधिकांश सेयर विशाल ग्रुपकै सदस्यहरूको हातमा रहेको छ ।

बृहस्पतिमा विशाल अग्रवालको २ करोड ३६ लाख ७५ हजार, निकुञ्ज अग्रवालको २ करोड ३६ लाख ७५ हजार, अर्पित अग्रवालको १ करोड १२ लाख १० हजार र अनुज अग्रवालको ३ करोड ६१ लाख २३ हजार ५ सय रुपैयाँको सेयर रहेको छ । यिनीहरू ‘विशाल ग्रुप’का निर्देशकहरू हुन् ।

यसैगरी, बृहस्पतिमा ग्रिन फिल्ड इंक प्रालिको नाममा ५० लाख १० हजार रुपैयाँको सेयर पनि देखिएको छ । यसमा पनि धेरैजसो विशाल ग्रुपकै अर्पित अग्रवाल, विशाल अग्रवाल, अनुज अग्रवाल, निकुञ्ज अग्रवाल, कविता संघाईको लगानी रहेको छ ।

त्यस्तै, यसमा श्रद्धा संघाईको २ करोड ५७ लाख ९२ हजार ५ सय लगानी रहेको छ । बृहस्पतिको सेयर विवरणमा श्रद्धाका बुबाको नाम पुरुषोत्तमलाल संघाई उल्लेख छ । पुरुषोत्तम त्रिवेणी ग्रुपका सञ्चालक हुन् । त्रिवेणी ग्रुप र विशाल ग्रुपबिच घोराही सिमेन्टलगायत थुप्रै व्यवसायमा साझेदारी रहेको छ । अग्रवाल र संघाई परिवारबिच पारिवारिक नातासम्बन्धसमेत जोडिएको छ ।

बृहस्पतिमा श्यामसुन्दर कँडेलको ६४ लाख ६५ हजार, समीर थापाको १० हजार, महेशकुमार सिंघानियाको ४२ लाख ३० हजार ६ सय, सञ्जय अग्रवालको ७ लाख ४ हजार २ सय र सञ्जयकुमार मोरको ७ लाख ४ हजार २ सय रुपैयाँ सेयर लगानी छ ।

बृहस्पतिलाई बाल संगठनको जग्गा भाडामा दिनका लागि तत्कालीन व्यवस्थापनले यस्तो हतारो देखायो कि सम्झौता भएको तीन दिनमै जग्गा उपलब्ध गराएको थियो । २७ माघ २०४९ मा संगठनले घर टहरासहितको जग्गा भाडामा दिन सम्झौता गरेको थियो । १ फागुनदेखि नै बृहस्पतिले भोगचलन सुरु गरेको थियो । त्यसबेला अध्यक्ष रीतासिंह वैद्य थिइन् ।

त्यसबेला कति जग्गा भाडामा दिइएको भनेर यकिन नभए पनि त्यसपछिका सम्झौतामा मात्र त्यसबेला ९ रोपनी जग्गा भाडामा दिइएको देखिएको थियो ।

पहिलो सम्झौता १ फागुन २०४९ देखि १ फागुन २०५२ सम्म तीन वर्षको हुने उल्लेख गरिएको थियो । सम्झौतामा तीन वर्षमा दुवै पक्षले कुनै कारण देखाएर सम्झौता भंग गर्न नमिल्ने, सम्झौता अवधि सकिएपछि नवीकरण गर्न सकिने प्रावधान राखिनुले बाल संगठनको नेतृत्वले बृहस्पतिलाई बिनाप्रतिस्पर्धा वर्षौंसम्म जग्गा भाडामा दिने उद्देश्य राखेको स्पष्ट देखिएको छ ।

सम्झौतामा बृहस्पतिलाई १ फागुन २०५२ सम्म मात्र भोगचलनको अधिकार दिइए पनि त्यसपछिका १० महिनासम्म सम्झौताबेगर बृहस्पतिले जग्गा भोगचलन गरेको देखिन्छ । २९ पुस २०५३ मा बाल संगठन र बृहस्पतिबिच भएको अर्को सम्झौताको पहिलो पृष्ठमा ‘पुनः १० माघ २०५३ सम्मका लागि सम्झौता अवधि थप भएको’ उल्लेख छ । यसले १ फागुन २०५२ देखि १० माघ २०५३ सम्म अवैध भोगचलन गरेपछि मात्र सम्झौता गरिएको देखाउँछ । सो बेलाको भाडासमेत गायब भएको देखिएको छ ।

नक्सालमा बाल संगठनको घर टहरासहितको ९ रोपनी जग्गा प्रयोग गरेबापत बृहस्पतिले संगठनलाई मासिक ५० हजार रुपैयाँ भाडा तिर्ने सम्झौता भएको थियो । अध्यक्ष रीता सिंहकै रोहबरमा भएको सम्झौतामा संगठनका महासचिव श्यामकुमार आले र बृहस्पतिका तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारीको हस्ताक्षर रहेको छ ।

बृहस्पतिले सुरुको सम्झौतामै बाल संगठनको जग्गामा अस्थायी ‘सेड’, टहरा, बाटो, पर्खाल, मूल ढोका, बोरिङ, खेलमैदान निर्माण गर्नसक्ने अधिकार पाएको थियो । पछि उसले अनाथ बालबालिकाले आश्रय लिएका बालमन्दिरका टहरामा घाम नै छेक्नेगरी ठुला भवन निर्माण गर्न थालेको थियो ।

हुन पनि पुरानो सम्झौताको म्याद १० माघ २०५३ सम्म कायम रहे पनि २९ पुस २०५३ मै अर्को सम्झौता गरेर १० माघ २०५३ देखि आठ वर्षका लागि बृहस्पतिलाई जग्गा भाडामा दिने निर्णय गरिएको कागजातले देखाउँछ । १० माघ २०६१ सम्म संगठनको जग्गा भोगचलन गर्ने अधिकार पाउँदा बृहस्पतिले ९ रोपनीको मासिक भाडा १ लाख ५० हजार रुपैयाँ तिर्ने, भाडा तीन–तीन महिनामा बुझाउने र वार्षिक १० प्रतिशत भाडा वृद्धि गर्ने सम्झौता भएको थियो ।

दोस्रो सम्झौतामा बृहस्पतिका तिवारी र संगठनका तत्कालीन महासचिव प्रचण्डराज प्रधानको हस्ताक्षर छ । अध्यक्ष रीता सिंहकै सक्रियतामा भएको यस सम्झौतापछि बृहस्पति शक्तिशाली बन्दै गयो ।

बृहस्पतिलाई यसअघि अस्थायी टहरा, बाटोलगायत निर्माण गर्ने अधिकार मात्र दिइएको थियो । तर, नयाँ सम्झौतामा पक्की कक्षाकोठासहितको भवन, कार्यालय भवन, विश्राम कक्ष, पुस्तकालय, आवासलगायतका स्थायी संरचना बनाउने अधिकारसमेत दिइएको थियो ।

दोस्रो सम्झौताको अवधि १० माघ २०६१ सम्म थियो । त्यहीबिच बृहस्पतिले थप २ रोपनी जग्गा उपलब्ध गराइदिन आग्रह ग¥यो । लगत्तै, संगठनले बृहस्पतिले मौखिक आग्रह गरेकै भरमा त्यो पनि मागेको भन्दा दुईगुणा बढी (५ रोपनी ९ आना) जग्गा दिएको थियो ।

यो निर्णय गर्दा अध्यक्ष सिंहले संगठनका पदाधिकारी र सदस्यहरूसँग सल्लाहसमेत नगरेको त्यसबेला संगठनमा कार्यसमिति सदस्य रहेका गणेशभक्त श्रेष्ठले उल्लेख गरे ।

विशाल ग्रुपले बृहस्पति विद्या सदनमार्फत जग्गा हडप्नकै लागि १० माघ २०६१ सम्म पुरानो सम्झौता कायम रहँदारहँदै ८ जेठ २०५८ मा थप ३० वर्षका लागि तेस्रो बहाल सम्झौता गरेको थियो ।

८ जेठ २०५८ देखि लागू भएको र ८ जेठ २०८८ सम्म कायम रहने यही सम्झौता भएपछि मात्र बाल संगठनले बृहस्पतिलाई १४ रोपनी ९ आना जग्गा बहालमा दिएको खुलेको छ ।

यही सम्झौतापछि नाफा कमाउने बृहस्पतिले भाडामा लिएको जग्गामा ठुल्ठुला भवन निर्माण गर्ने अधिकार पाएको थियो । सम्झौता अवधिभर बाल संगठनले बृहस्पतिलाई हटाउन नसक्ने तर बृहस्पतिले तीन महिनाको पूर्वसूचना दिएर सम्झौता तोड्नसक्ने प्रावधान राखेर संगठनलाई कमजोर बनाइएको छ ।

८ जेठ २०८८ सम्मलाई बाल संगठनको १४ रोपनी ९ आना जग्गा पाइसकेको बृहस्पतिले त्यसका लागि (तेस्रो) सम्झौता गरेको एक वर्ष नपुग्दै २१ साउन २०५९ मा थप १३ रोपनी जग्गा मागेको थियो । बाल संगठनले ११ भदौ २०५९ मा बृहस्पतिलाई उसले मागेको भन्दा बढी १३ रोपनी १२ आना १ पैसा जग्गा भाडामा दिने निर्णय गरेको थियो । यो जग्गा पनि ३० वर्षकै लागि भाडामा लिन विशाल ग्रुपको बृहस्पति सफल भयो ।

सो जग्गा वार्षिक कुल ६ लाख रुपैयाँमा भाडामा लिएको थियो । यो जग्गा बृहस्पतिलाई पहिले भाडामा दिइएको १४ रोपनी ९ आना जग्गासँग साँधसीमा जोडिएको थियो । बृहस्पतिले यस’bout दिएको जवाफ चित्तबुझ्दो छैन । २०४९ देखि २०५८ सालसम्म भाडामा लिएको १४ रोपनी ९ आना जग्गामा घरटहरा पनि भएकाले वार्षिक ३० लाख भाडा तिरेको तर १३ रोपनी १२ आना १ पैसा जग्गा प्रयोगविहीन, खाल्डाखुल्डी र झाडीहरू रहेकाले वार्षिक ६ लाख भाडा तिर्न तयार भएको बृहस्पतिले काठमाडौं जिल्ला अदालतमा पेस गरेका कागजातमा उल्लेख छ ।

१४ रोपनी ९ आना जग्गा पहिलेकै सम्झौताबाट ३० वर्षका लागि ८ जेठ २०८८ सम्म बृहस्पतिलाई दिइसकिएको थियो । फेरि ‘नेगोसियसन’बाट १ वर्ष थपेर १ वैशाख २०८९ सम्म त्यो जग्गा बृहस्पतिलाई दिने निर्णय गरिएको बाट यसमा आर्थिक लाभ दिएको देखिएको छ ।

बृहस्पतिलाई भाडामा दिइएको जग्गामा कुनै कारणले उसको स्वामित्व नरहे भवन निर्माण गर्दा लागेको लगानीबराबरको रकम क्षतिपूर्तिका रूपमा संगठनले दिनुपर्ने प्रावधानले बाल संगठनलाई जालमा पारेको देखिएको छ ।

यस प्रकरणविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो । उजुरीमाथि प्रारम्भिक छानबिनपछि अख्तियारले २७ कात्तिक २०६६ मा पुरानो बहाल सम्झौताको भाडा नघट्नेगरी लिजमा दिन निर्देशन दिएको थियो ।

अख्तियारको निर्देशनपछि बाल संगठनले पछिल्लो जग्गा बहाल सम्झौता रद्द गर्न बृहस्पतिलाई पत्र पठाएको थियो तर बृहस्पतिका तत्कालीन प्रमुख प्रशासक मुरारीनिधि तिवारीले ७ मंसिर २०६६ मा संगठनलाई जवाफ पठाउँदै सम्झौता भंग नगर्ने अडान लिए ।

संगठनले सम्झौता रद्द गरिसकेकाले भाडा नलिने अडान लिएपछि बृहस्पतिले सम्झौतालाई अस्तित्वमा राखिराख्न अदालतमार्फत बहाल रकम बुझाइपाउँ भन्दै काठमाडौं जिल्ला अदालतमा फिरादपत्रसहित बहालबापतको रकमसमेत जम्मा गर्न सुरु गरेको थियो । बृहस्पतिले आठपटकसम्म बहालबापतको रकम फिरादपत्रसाथ अदालतमा जम्मा गरेको थियो ।

बृहस्पतिसँग विवाद भएपछि यो जग्गा बाल संगठनले आफूसँग नराखीकन अर्को कम्पनीलाई भाडामा दिएको थियो । सो कम्पनीसँग सम्झौता भएलगत्तै त्यही जग्गा भोगचलन गर्न पाउनुपर्ने दाबीसहित बृहस्पतिले २७ फागुन २०६६ मा सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

बृहस्पतिले रिट दायर गरेपछि बाल संगठनका पदाधिकारी पाँच वर्ष तीन महिनासम्म अदालत धाइरहे । संयुक्त इजलासमा राय बाझिएपछि यो मुद्दा पूर्ण इजलासमा पुगेको थियो । पछि मुद्दा मामिलामा धेरै समय खर्च भएको र एकअर्कालाई क्षति पुगेको भन्दै बाल संगठन र बृहस्पतिले मेलमिलाप गरी अर्को कम्पनीलाई भाडामा दिइसकेको जग्गा पुनः बृहस्पतिलाई नै दिइएको थियो ।

२१ जेठ २०७२ मा दुवै पक्षबिच मिलापत्र भएपछि ३ साउनमा संगठन र बृहस्पतिबिच अर्को पूरक सम्झौता गरी सार्वजनिक सूचना ननिकालीकनै जग्गा प्राप्त गर्न बृहस्पति सफल भयो । यसबेला पनि बिचमा भाडामा लिएको कम्पनीसँग लिएको भाडाभन्दा कम राखिएको थियो ।

यस सम्झौताबाट भाडा अवधि बढाएर २१३२ सालसम्म पु¥याएर बृहस्पतिले बाल संगठनको २८ रोपनी ५ आना १ पैसा जग्गा हडपेको देखिएको छ । विवाद समाधान गर्ने बहानामा अनन्तकालसम्म जग्गा प्राप्त गर्न बृहस्पतिले ठुलै रकम दिएको आरोप लाग्दै आएको छ ।

यस सम्झौतामा पनि बाल संगठनबाट तत्कालीन अध्यक्ष सिंहकै हस्ताक्षर रहेको छ । साक्षीमा उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव सुवासकुमार पोखरेल छन् ।

बृहस्पतिले बाल संगठनबाट लिजमा हडपेको जग्गामध्ये ९ रोपनी जग्गा भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट सम्बन्धनप्राप्त ‘राय स्कुल’लाई ‘सबलिज’मा दिएको छ । ३ साउन २०७२ मा भएको पूरक सम्झौतामा टेकेर बृहस्पतिले बाल संगठनको जग्गा ‘राय स्कुल’लाई दिएको हो । त्यही पूरक सम्झौतामा पहिलोपटक ‘सबलिज’को प्रावधान राखिएको थियो । विशाल ग्रुप बृहस्पतिमा औपचारिक रूपमा जोडिएपछि नै यो जग्गा ‘राय स्कुल’लाई दिइएको देखिन्छ ।

२०२१ सालमा तत्कालीन राजपरिवारले जग्गा उपलब्ध गराइदिएर स्थापना भएको बाल संगठनको स्वामित्वमा हाल अर्बौंको मूल्यांकन हुने जग्गा हो । कुल १ सय २ रोपनी जग्गामध्ये ४९ रोपनी जग्गा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले लिएपछि बाल संगठनसँगको एकल स्वामित्वमा ५१ रोपनी जग्गा छ, जसमा २९ रोपनी ४ आना जग्गा बाल संगठन र ललितकलाको साझा भनेर कागजातहरूमा उल्लेख गरिएको छ । राजधानी दैनिकमा खबर छ ।