किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?

२१ भाद्र २०८०

२१ भाद्र, स्वच्छखबर, काठमाडौं । यादवको टाउकोपछाडि चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनले योजनाबद्ध रूपमा खुकुरी बोकेर आएको अनुसन्धानबाट देखिएको छ । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । प्रहरी वृत्त सिंहदरबारमा राखिएका सापकोटाले प्रहरीसँगको बयानमा सापकोटालाई आफूले रिसको आवेगमा खुकुरी प्रहार गरेको बताएका छन् । आफू राष्ट्रवादी भएको र नेताहरूले संसदबाट एमसिसी पारित गरेको, ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको जस्ता कारणले रिसको आवेगमा नेतामाथि आक्रमण गरेको बताएका छन् ।

यादवलाई ट्रमा सेन्टरमा आइसियूमा राखेर उपचार भइरहेको र उनको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टाउकोको सिटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको जानकारी गराइन्छ, उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरो सर्जरी÷ओर्थोपेडिक सर्जरीका विज्ञ चिकित्सकहरूद्वारा शल्यक्रिया गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ, तत्पश्चात् हेर्नका लागि ट्रमा सेन्टरको आइसियूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ, हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा आइसियूमा उपचार भइरहेको जानकारी गराइन्छ ।’ यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले गहिरो घाउ परेको अस्पतालले जनाएको छ ।

आक्रमणमा पर्दा राप्रपाका महामन्त्रीसँग बाहिरिदै थिए यादव

सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने श्याम सापकोटा बालाजुको पैंयुटारबाट भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आएका थिए । झोलामा खुकुरी बोकेर आएका सापकोटाले रिपोर्टर्स क्लबमा नेताहरू आउँछन् भन्ने सुनेकै आधारमा त्यहाँ पुगेको बताइन्छ ।

रिपोर्टस क्लब नेपालमा बुधबार साक्षात्कार कार्यक्रममा काँग्रेस सहमहामन्त्री यादवले भाषण गर्दा पहिलो लहरमा सापकोटा बसेर सुनिरहेका देखिन्छन् । कार्यक्रम सकिएलगतै यादव राप्रपाकै महामन्त्री धवलशमसेर जबरासँग कुरा गर्दै बाहिरिने क्रममा सापकोटाले झोला खोलेर एकाएक खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीको भनाइ छ । करिब सवा १ बजे सापकोटाले यादवमाथि आक्रमण गरेका थिए ।

यादवलाई आक्रमण गरेपछि सापकोटाले ‘एमसिसी मुर्दाबाद, मेरो देश प्राणभन्दा प्यारो छ’ भन्दै नाराबाजी गरे । उनले प्रधानमन्त्री तथा मन्त्री र नेताहरूलाई गालीगलोज गर्दै आफू राष्ट्रवादी भएको भन्दै नारा लगाए । प्रहरीको नियन्त्रणमा रहेकै बेलामा उनले भाषण गरिरहेका थिए भने प्रहरी सुनेर बसिरहेका थिए ।

राजेन्द्र लिङ्देनको पार्टी राप्रपामा तीन वर्षअघिदेखि विभिन्न कार्यक्रम र मोर्चामा सहभागी हुने गरेका नुवाकोट विदुर–७ तुप्चेका सापकोटाले पछिल्लो समय तीन राजनीतिक पार्टी, नेपाली काँग्रेस, एमाले र माओवादीका नेताहरूको आलोचना गर्दै आएका थिए । उनले राप्रपाका लिङ्देनलाई भने राष्ट्रवादी नेता मान्दै आएका थिए । राजधानी दैनिकमा खबर छ ।