महिला टी २० विश्वकपको एसिया छनोटमा नेपाली थाइल्यान्डसँग ४६ रनले पराजित

२२ भाद्र २०८०

२१ भाद्र, स्वच्छखबर, काठमाडौं । आईसीसी महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डसँग पराजित भएसँगै नेपालको ग्लोबल छनोट खेल्ने सपना अधुरै भएको छ ।

शुक्रबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो । थाइल्याण्डले दिएको १०६ रनको लक्ष्य नेपालले पूरा गर्न असफल हुँदा फाइनलमा स्थान बनाउन सकेन ।

नेपालले १९.३ ओभरमा ५९ रनमात्रै बनाउन सक्यो । नेपालकी कविता कुँवरले १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन जोडे । अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

आज भएको अर्को खेलमा यूएईले हङकङलाई ५७ रनले हराएर फाइनलमा पुगेको छ । प्रतियोगिताको उपाधिका लागि शनिबार यूएई र थाइल्यान्डबीच खेल हुनेछ । यी दुवै टोली ग्लोबल टी–२० छनोटमा पुगेका छन् ।