नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विशाल काल्तान,वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा

२३ भाद्र २०८०

२३ भाद्र, स्वच्छखबर, बौद्ध । नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिशाल काल्तान निर्वाचित भएका छन् । शनिबार जोरपाटी स्थित याङरिमा हिल सिटिमा सम्पन्न संघको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट अध्यक्ष काल्तानसहित २१ सदस्यीय नयाँ कार्यसमिति छनौट भएको हो।

संघको वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा तामाङ‚उपाध्यक्षमा सुवास मोक्तान‚महासचिवमा खेम मोक्तान‚ सचिवमा निर्मला घिसिङ र कोषाध्यक्षमा योगेश लामा सर्वसम्मत चयन भएका छन्। यस्तै, सदस्यहरू बुद्ध लामा‚ रेश्मा बमजन‚ जितु लोप्चन‚ आसमान लोप्चन‚ जीवन बमजन‚ लक्ष्मी स्याङ्तान‚ अन्जु थोकर‚ मीन योन्जन‚ बसन्ती लामा‚ अनिता गोले‚ सुमिना लो‚ मिलन थिङ ‘पराङ’‚ प्रदीप लामा र स्मारिका थिङ तामाङ चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष काल्तानले तामाङ कला संस्कृतिलाई विश्वको तामाङ समाज संगै संसारभर फैलाउने उद्देश्य लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

तामाङ कलाकारहरूको एकता, व्यावसायिकता बनाउने र समग्र तामाङ कलाकारहरूको हकहितको निमित्त २०६२ सालमा दर्ता भएको संघ तामाङ कलकारहरूको अभिन्न अङ्गको रूपमा स्थापित छन् । तामाङ गीतसङ्गीतको प्रवर्द्धन, संस्कार संस्कृतिको जगेर्नासँगै समुदायमा आपतविपतको बेला समेत सहयोगी संस्थाको रूपमा खडा भएको छ । संघमा करिब ४ सयको हराहरीमा सदस्यहरू आबद्ध छन् ।

कलाकार राष्ट्रका गहना हुन् : मन्त्री लामा

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तिर्थ लामाले कलाकार राष्ट्रका गहना भएको बताउँदै आफ्नो कला, संस्कृतिको विकास र प्रवद्र्धन गर्नका लागि तामाङ कलाकार संघले सुरुवाती चरणबाट नै लागिपरेको बताए । मुलुकमा अहिले भइरहेको विकृति, विसङ्गतिहरुलाई चिर्दै जाने र राष्ट्र, राष्ट्रियता जोगाउनका लागि कलाकारले खेलेको भुमिका अहम भएको उनको भनाई छ । कलाकार देश चिनाउने सच्चा देशभक्त समेत भएको मन्त्री लामा बताउँछन् ।

तामाङ कलाकार संघ कलाकारको मात्रै नभई समग्र देशका तामाङहरुको हरेका मुद्धाका साथै राजनितिक, सामाजिक जागरणका लागि उभिदै आएको उनले बताए । मन्त्री लामाले भने ”प्रजातन्त्र आउनु अघि तामाङहरुले सबैखाले अधिकारहरु गुमाउनु परेको थियो । तर, प्रजातन्त्र आएपछि धेर थोर उपलब्धि पाएको छ ।”

”हामी तामाङ निरास हुनुपर्ने जरुरत छैन, शासक वर्गहरुले अधिकार नदिन खोजे पनि आफ्नो अधिकार लिन तामाङहरु सक्षम छन् ” ।’ मन्त्री लामाले भने -”२०६२ ६३ को आन्दोलन अघि तामाङ समुदायलाई हेप्ने परम्परा रहेको भएपनि हाल हामी तामाङहरु एक भएको र हाम्रो आन्दोलन अब कसैले रोक्न सक्दैनन् ।”

यसैगरी, काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामाले तामाङ कलाकार संघले विगतका दिनमा कलाकारहरुको भविष्य कसरी उज्वल बनाउने ,कला क्षेत्रमा देखिएका विकृति विसंगतीलाई कसरी उजागर गर्ने र उनीहरुको समस्यालाई समाधान गर्दै अतुलनिय योगदान गरेको बताए । संघले कोभिड, भुकम्प लगायत अप्ठ्यारोमा परेका तामाङहरुलाई च्यारिटी सोेहरु मार्फत सहयोग गदै आएको उनले बताए ।

वडाध्यक्ष लामाले तामाङ कलाकारहरुले समाजका विकृति र विसङ्गतिहरुलाई चिर्दै आएकाले कलाकारहरु एक भएमा हाम्रो धर्म, संस्कृति संरक्षण हुने बताए । उनले भने – ” काठमाडौं नेपालको राजधानी शहर, हिन्दु र बौद्ध धर्मको आस्थाको केन्द्र हो । राणा शासन अघि पनि काठमाडौंमा तामाङ थियो । २००७ साल अघि तामाङहरुले आफ्नो अधिकार प्राप्त गर्न सकेका थिएनन्, कुनैपनि कार्यलयमा काम गर्न जात नै परिवर्तन गर्नुपर्ने अवस्था थियो ।”

मुलुकमा लोकतन्त्र स्थापना हुनुमा तामाङहरुको महत्वपूर्ण भुमिका रहेको बताउँदै वडाध्यक्ष लामाले आगामी दिनमा प्रदेशका मन्त्री तिर्थ लामा अर्थात् तामाङहरु पनि राष्ट्रपति, प्रधानमन्त्री हुनुपर्ने बताए ।