मोरक्को भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो,एक हजार चार सय बढी घाइते

२४ भाद्र २०८०

२४ भाद्र, स्वच्छखबर,  मोरक्को । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पमा परी एक हजार ४०० बढी घाइते छन् । बीबीसीका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएको छ । ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान छ ।

भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म पुग्न निकै कठिनाइ भएको छ । पूराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ ।

मोरक्कोमा शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का शनिबार पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमहरूले जनाएका छन् ।