गोदावरी तीनका १ सय ५५ भूमिहीनलाई निस्सा वितरण

२४ भाद्र २०८०

२४ भाद्र, स्वच्छखबर,  गोदावरी । गोदावरी नगरपालिका वडा नम्बर तीनका भुमिहिनलाई निस्सा वितरण गरिएको छ। आईतबार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरुप वडा नम्बर तीनमा लालपूर्जा वितरण गर्नका लागि निस्सा वितरण गरिएको हो।

निस्सा प्राप्त गरे पछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरु अब चाँडै लालपुर्जा पाउने आशामा बसेका छन् । प्रदेश सांसद मधुसुधन पौडेल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उप प्रमुख मुना अधिकारी र वडा नम्बर ३ का अध्यक्ष सानुराजा घिमिरेको उपस्थितिमा गोदावरीका १ सय ३८ जना भूमिहीन सुकुम्वासी र १७ जना भुमिहीन दलितहरुलाई निस्सा वितरण गरिएको भुमि आयोग ललीतपुरका अध्यक्ष श्री गोविन्द महर्जनले जानकारी दिए । अब चाँडै नै लालपुर्जा वितरण गर्ने उनले बताए ।

नगरप्रमुख गजेन्द्र महर्जनले भूमि आयोगसँगको समन्वयमा नगरपालिकाभित्रका सबै सुकुम्वासीलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गाको लालपुर्जा वितरण गर्ने बताए। लालपुर्जा प्राप्तीका लागि आवश्यक कार्य गर्न सहजीकरण गर्ने उनले बताए ।

यसैगरी, ललितप्र क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सांसद उदय शम्शेर राणाले आफु विशेष कारणले उपस्थित हुन नसके पनि यस कार्यका लागि साथ, सहयोग गर्ने शुभकामना सन्देश पठाएको वडाध्यक्ष सानुराजा घिमिरेले जानकारी दिए । लामो समयसम्म जग्गा नपाएका सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको वडाध्यक्ष घिमिरेले बताए । चाँडै नै बाँकी काम गराई कुनै पनि हालतमा पूर्जा दिलाएरै छाड्ने उद्घोष गरे ।