तीनकुनेमा चारजनाको हत्यामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ

३१ भाद्र २०८०

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति चार जनाको हत्यामा एकै व्यक्ति संलग्न देखिएको प्रारम्भिक निष्कर्ष  निकालेको छ । घटनास्थलको सीसीटीभी फुटेजमा देखिएका एक युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । हत्यामा उनको मात्रै संलग्नता देखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष हो ।

उनलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरिएको हो । पक्राउ परेका युवकको परिचय खुलाइएको छैन । यसअघि तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई शुक्रबार राति आफैं प्रहरी वृत्त बानेश्वर पुगेर घटनाबारे जानकारी दिएका थिए । शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका उनको भने घटनामा संलग्नता नदेखिएको बताइएको छ ।

शुक्रबार राति गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । दोलखा घर भई सःमिलमा सुरक्षा गार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी घर भई मिलमा बस्दै आएका २५ वर्षीय नवीन राईको हत्या भएको थियो ।

प्रहरीले घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।