पठनपाठन बन्द गरी शिक्षा विधेयकको विरोधमा शिक्षकहरु उत्रिए आन्दोलनमा

३ आश्विन २०८०

३ असोज, स्वच्छखबर,काठमाडौँ । शिक्षा विधेयकको विरोधमा शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर शिक्षकहरू सरकारलाई दबाब दिन काठमाडौं आइपुगेका छन् ।

जिल्ला जिल्लाबाट बस रिजर्भ गरेर काठमाडौं आइपुगेका शिक्षकहरू शिक्षक महासंघको नेतृत्वमा माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् चार लाख शिक्षक र कर्मचारीको हकहितविपरीत विधेयक आएकाले आन्दोलनमा उत्रिनु परेको महासंघले जनाएको छ ।

उनीहरुले सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्नेलगायतका प्रावधानप्रति आपत्ति जनाएका छन् ।

त्यस्तै विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रकृयामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्नेलगायतको माग गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाए पनि महासंघले वार्तामा नबस्ने घोषणा गरेको छ । विधेयक संसदमा दर्ता भएकाले शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नरहेको महासंघले बताएको छ ।