फर्निचर एक्स्पो असोज १० गतेदेखि,५० हजारले अवलोकन गर्ने अपेक्षा

४ आश्विन २०८०

४ असोज, स्वच्छखबर, काठमाडौँ ।  नवौं संस्करणको फर्निचर एक्स्पो २०२३ भृकुटीमण्डपमा आयोजना हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल फर्निचर तथा फर्निसिङ संघ एनएफएफएले एक्स्पोको तयारी तिब्र पारिएको जानकारी दिएको हो ।

आगामी असोज १० गते देखि १४ गतेसम्म ५ दिन एक्स्पो आयोजना हुनेछ । यस अघि नै आयोजकले फर्नेक्सको इभेण्ट लञ्च गरी बोलकबोलमा अधिकांश स्टल बुकिङ गराएको थियो । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा स्टल बुकिङ खुल्ला गरिएकोमा एकाध बाहेकका सबै स्टल बुकिङ भईसकेको एशोसिएशनले जनाएको छ ।

“के हामी आत्मनिर्भर छौं ?” भन्ने मुख्य थिम सहित आयोजना हुने एक्स्पोको असोज १० गते दिउँसो १ बजे उद्योग वाणिज्य तथा अपुर्तीमन्त्री रमेश रिजालले उद्घाटन गर्नेछन् । ५ दिनसम्म चल्ने एक्स्पोमा अवलोकनकर्तालाई मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर तथा फर्निसिङ्गका उत्पादनका बारेमा जानकारी दिने पनि बताइएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्धेश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । “आर्थिक गतिविधिहरु सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक कृयाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौं,” अध्यक्ष अग्रवालले भने । उनका अनुसार एक्स्पोमा प्रवेश निशुल्क गरिएको छ ।

मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन संघले पहलकदमी लिँदै आएको एक्स्पोका संयोजक निकुञ्ज अग्रवालले बताए । हरेक वर्ष आयोजना भइरहेको फर्नेक्सले यो अभियानलाई सहयोग गरिरहेको भए पनि पछिल्ला दिनमा सरकारले गरेको नयाँ व्यवस्थाका कारण स्वदेशी उत्पादनको बजार बिस्तार चुनौतीपूर्ण भएको अग्रवालको भनाई छ । “अर्थतन्त्र कमजोर अवस्थामा रहेका बेला स्वदेशी मुद्रा बाहिरिनबाट रोक्नुपर्नेमा सरकारले वन नियमावलीमा निजी क्षेत्रलाई निषेध गर्दा आयातित वस्तुको मात्र बढ्ने हो कि भन्ने चिन्ता एशोसिएशनलाई लागेको छ,” अग्रवालले भने, “एक्स्पो आयोजना हुँदैगर्दा सरकारलाई निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्न एशोसिएशन आग्रह गर्दछं ।”

एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनका महासचिव सञ्जय लामाले बताए । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ । एक्स्पो स्थलमा सामान खरिद गर्नका लागि खुल्ला बजार पनि सञ्चालन हुनेछ ।

प्रदर्शनीमा मोडुलर किचन, आधुनिक बेडरुम,बाथरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पोट, पर्दा, म्याट्रेस, डोरम्याट, डेकोरेशन सामाग्री, होम डेकोर, विल्डिङ्ग मेटेरिय, अफिस, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारको साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श आदि हुने छन् । संघका अनुसार अवलोकनकर्ताले प्रदर्शनी अवधिभर निःशुल्क अवलोकन गर्न सक्ने छन् ।

फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी, व्यवसायीहरुलाई समेटेर बृहत र भव्य रुपमा आयोजना हुन लागेको एक्स्पोलाई किङ कोयल ले शीर्ष प्रायोजन गरेको छ । त्यसै गरी एक्स्पोको इन एशोसिएशन विथमा प्रेष्टिज कार्पेट रहेको छ भने पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहनेछ । अवलोकनकर्तालाई आकर्षक गिफ्ट भौचर उपलब्ध गराउनुका साथै घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुनेछ भने एक्स्पोस्थलमा नै वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ ।

साथै, एक्स्पोमा सहभागि हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने छन् ।