मलङ्गवामा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा झडप, गएरातिदेखि कर्फ्यु लागू

५ आश्विन २०८०

५ असोज, स्वच्छखबर, सर्लाही। सर्लाहीको मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु लागेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएराति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासनले मलङ्गवा नगरपालिकाको पूर्वमा झिम नदी, पश्चिमा मुसैली नहर, उत्तरमा प्रहरी चौकी र दक्षिणीमा नेपाल-भारत सीमा क्षेत्रभित्र कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

गणेश पूजा गरेको मूर्ति विसर्जन गर्नेक्रममा दुई पक्षबीच झडप भएपछि कर्फ्यु जारी गरिएको उहाँले बताउनुभयो । झडपमा परि प्रहरीसहित केही घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।

स्थानीय प्रशासनले थप  शान्ति सुरक्षा बिग्रन नदिन कर्फ्यु जारी गरेको जनाएको छ । मूर्ति विसर्जन गर्न गएकासँग अर्को समूहले ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो । अहिले मलङ्गवामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघि गएको भदौ २२ गते पनि कृष्णको मूर्ति विसर्जन गर्ने क्रममा यही क्षेत्रमा झडप भएको थियो । झडप भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले २३ गते बेलुका ५ बजेदेखि २४ गते बिहान ८ बजेसम्म कर्फ्यु लगाएको थियो ।