नाइजरसँगको सैन्य सहयोग अन्त्य भएको फ्रान्सको घोषणा

८ आश्विन २०८०

८ असोज, स्वच्छखबर, काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नाइजरबाट आफ्नो राजदूत फिर्ता बोलाउने र नाइजरसँगको सैन्य सहयोग अन्त्य गर्ने बताएका छन्। सबै सैन्य सहयोग समाप्त भइसकेको र फ्रान्सेली सेना आगामी महिनाहरूमा फिर्ता हुने उनले बताए।

गत जुलाईमा नाइजरमा सत्ता कब्जा गरेको सैन्य जुन्टाले यस कदमको स्वागत गरेको छ । फ्रान्सको निर्णयलाई नाइजरको सार्वभौमिकतातर्फको नयाँ कदम भएको सैन्य शासकले प्रतिक्रिया दिएको छ । भूपरिवेष्ठित पश्चिम अफ्रिकी देश नाइजरमा करिब १५ सय फ्रान्सेली सैनिक छन् ।

राजधानी नियामीमा फ्रान्सेली उपस्थितिका बिरूद्ध महिनौंदेखिको विरोध प्रदर्शनपछि पेरिसको यो निर्णय आएको हो ।

नाइजर पश्चिम अफ्रिकाको एक पूर्व फ्रान्सेली उपनिवेश हो जहाँ सेनाले भर्खरै शासनसत्तामा नियन्त्रण कायम गरेको छ । यसअघि बुर्किना फासो,गिनी,माली र चाडमा पनि सैन्य कू(मार्फत शासन कायम गरिएको छ ।

पछिल्लो पटक गत अगस्टमा ग्याबोनमा पनि सैन्य-कु भएको थियो । यस क्षेत्रमा पछिल्ला वर्षहरूमा फ्रान्स विरोधी भावना बढेको छ । पेरिसलाई नवऔपनिवेशिक नीति सञ्चालन गरेको आरोप लाग्दै आएको छ । तर फ्रान्सले भने यस्ता आरोपको खण्डन गरेको छ ।