सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा कांग्रेस केन्द्रीय सदस्यहरुको जोड

८ आश्विन २०८०

८ असोज, स्वच्छखबर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय सानेपामा केहि दिनदेखि जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरुले पार्टीका तर्फबाट सरकारमा सहभागी भएर मात्रै नपुग्ने भन्दै सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

साथै उनीहरुले सरकारलाई जनमुखी र प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीलाई समेत आग्रह गर्नुपर्ने धारणा राखेका थिए ।

आइतबार सम्पन्न बैठकपछि प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय सदस्यहरुले जनताले प्रत्यक्ष महशुस हुने गरि सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नु भएको बताए ।

उनले निश्चित उदेश्यका साथ बनाइएको गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्ने धारणा कांग्रेसको रहेको बताए । सरकारले गरेको ठिक कामलाई जनतामाझ पुराउनुपर्ने र सरकारको कमीकमजोरीका बारेमा औल्याउन सकिने उनको भनाइ छ ।

विश्वकर्माले अहिले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीले सन्तुलित ढंगले लैजानुपर्ने र सन्तुलन गर्न नसके समस्या पर्ने पनि बताए। सरकार ढल्ने र नढल्ने बिषय सरकारको काम कारवाहीमा भर पर्ने भएपनि सरकार परिवर्तनमा कांग्रेसले फर्केर नहेरेको उनको भनाइ छ ।

त्यस्तै केन्द्रीय समिति बैठकमा महासमिति बैठकको प्रभावकारीता, पार्टी कार्यक्रमको समिक्षाका साथै समसामायिक बिषयमा धारणा राखेको विश्वकर्माले जानकारी दिए ।

आइतबार अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई लगाएत ३२ जनाले धारणा राखेका थिए । केन्द्रिय कार्यसमिति बैठक आज ११ बजे बस्ने कांग्रेसले जनाएको छ ।(