जडिबुटीमा अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

१२ आश्विन २०८०

१२ असाेज, स्वच्छखबर, काठमाडौं । उच्च अदालत पाटनले अरनिको यातायात प्रालिले जडिबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ । शुक्रबार न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो ।

अदालतले असोज २० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आदेशमा भनिएको छ, ‘छलफल हुने मितिसम्म सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरुका नाममा अल्पपकालिन अन्तरिम आदेश गरिएको छ।’

साथै निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै कारण भए बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि महानगरलाई आदेश दिइएको छ ।