पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारे चीनसँग महत्वपूर्ण छलफल भयोः प्रधानमन्त्री

१३ आश्विन २०८०

१३, असाेज, स्वच्छखबर, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् ।

चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिएका हुन् । केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

‘वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ’, उनले भने । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए । आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उनले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए ।

चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ । प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण सफल भएको बताए । उनले द्विपक्षीय भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई उचाई दिन र विगतका सम्झौता कार्यान्वयन गर्न मद्दत पुगेको बताए । उनले चीन भ्रमणले दुई देशबीच आपसी विश्वास बढेको समेत बताए ।