सपिङ मलमा गोली चल्दा एकको मृत्यु, छ जना घाइते,आरोपित १४ वर्षीय किशोर पक्राउ

१६ आश्विन २०८०

१६, असोज, स्वच्छखबर,बैंकक । थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र (सपिङ मल) मा मङ्गलबार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

थाइल्याण्डको राजधानी बैंककको मध्यभागमा रहेको सियाम पारागोन मलमा स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे गोली चलेपछि सयौँ मानिस भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।

इरावान इमर्जेन्सी सेन्टरका निर्देशक युथाना स्रेतानानले सञ्चारमाध्यमलाई दिएको जानकारीमा एक महिलाको हत्या भएको पुष्टि गरेका छन् । उनले यस पहिले उक्त घटनामा तीन जनाको मृत्यु भएको भनी आएको समाचारको खण्डन गर्दै एक व्यक्तिको मात्र मृत्यु भएको बताएका छन्। युथानाले भने, “प्रारम्भिक अनुसन्धानबाट मृतक चिनियाँ नागरिक रहेको खुल्न आएको छ ।”

आक्रमणमा छ जना घाइते भएको र पाँच जनाको अवस्था गम्भीर रहेको उनले बताए । गोली लागेकामध्ये एक जनाबाहेक सबै महिला थिए ।

गोली हानेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

रोयल थाई प्रहरीको महानगरीय अनुसन्धान विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा १४ वर्षीय एक किशोरलाई गोली हानेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

भिडियो फुटेजमा कालो सर्ट, चस्मा र अमेरिकी झण्डा अङ्कित टोपी लगाएका एक लामो कपाल भएका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको देखिएको छ । प्रधानमन्त्री श्रेता थाभिसिनले आफूले स्थितिलाई नजिकबाट नियालिरहेको बताउएका छन्।

“अहिले मेरो लागिसबैभन्दा बढी चासो सबै नागरिकको सुरक्षा हो,” उनले एक्स (ट्वीटर) मा लेखेका छन् ।

उनले भने, “म सबै अधिकारीहरूलाई सबै सुरक्षित हुन सकून् भन्नका लागि स्थितिको निगरानी गर्न आग्रह गर्दछु ।”