सरकार गठनका लागि पहल थाल्न सान्चेजलाई स्पेनका राजाको आग्रह

१७ आश्विन २०८०

१७, असोज, स्वच्छखबर, स्पेन। स्पेनका राजा फिलिप छैटौंले समाजवादी नेता पेड्रो सान्चेजलाई नयाँ सरकार गठनको पहल गर्न आग्रह गरेका छन् । संसदमा सबैभन्दा ठूलो दक्षिणपन्थी दलका नेता अल्बर्टो नुनेज–फेइजुले प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्न संसदीय समर्थन प्राप्त गर्न असफल भएको चार दिनपछि यो कदम चालिएको हो ।

यदि सान्चेजलाई प्रधानमन्त्रीमा पुनर्बहाली गर्ने हो भने उहाँले संसदीय बहुमत पुष्टि गर्नुपर्नेछ । यसका लागि उहाँलाई स्पेनमा महत्वपूर्ण राजनीतिक भूमिकामा रहेको कट्टर पन्थी क्याटलान पृथकतावादी पार्टीको समर्थन आवश्यक पर्नेछ ।

स्पेनका राजनीतिक दलसँगको वार्तापछि राजाले पेड्रो सान्चेजलाई प्रधानमन्त्रीका लागि उम्मेदवार बनाउने आफ्नो निर्णयबारे मलाई जानकारी गराएको संसदीय सभामुख फ्रान्सिना अर्मेन्गोलले बताए ।

सान्चेजले अब नोभेम्बर २७ भन्दा पहिले हुने महत्वपूर्ण मतदानमा ३५० सदस्यीय संसद्मा १७६ सांसदको समर्थन प्राप्त गर्न आफ्नो पहल अघि बढाउनुुपर्नेछ ।

यदि उनी असफल भए सम्भवतः जनवरीको मध्यमा स्पेन स्वतः नयाँ निर्बाचन गर्न बाध्य हुनेछ । सन् २०१८ देखि सत्तामा रहेका सान्चेज बास्क र क्याटलान क्षेत्रीय पार्टीहरूको साथमा अति वामपन्थीहरूको समर्थनमा सत्तामा फर्कनेमा विश्वस्त छन् ।

तर महत्वपूर्ण कुरा के छ भने उहाँलाई जेएक्सक्याटका सात जना सांसदको मत आवश्यक पर्नेछ । यसले सन् २०१७ को क्याटलन पृथकतावादी असफल प्रयासका कारण कानुनी कारबाहीको सामना गरिरहेकाहरूलाई आममाफीको माग गरेका छन् ।

यस्तो कदमको दक्षिणपन्थीहरूले कडा विरोध गरेका छन् र सान्चेजको आफ्नै समाजवादी पार्टीभित्रका केही सदस्य पनि आममाफी वा क्याटलान नेताहरूप्रति नरम हुने दृष्टिकोणको विरोधमा रहेका छन् ।