नेपालको शान्ति प्रक्रियाबारे राष्ट्रसंघको चासो, महासचिव नेपाल भ्रमणमा आउने

१७ आश्विन २०८०

१७, असोज, स्वच्छखबर, काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुरेटेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे मङ्गलबार पार्टी पदाधिकारीहरूलाई जानकारी दिने क्रममा महासचिवको भ्रमणबारे बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार पार्टी बैठकमा महासचिवको नेपाल भ्रमणबारे जानकारी गराएका हुन् । उनले अनुसार महासचिव गुटेरेस यसै महिना आउने बताए ।

महासचिवको मुख्य चासो शान्ति प्रक्रियामा रहेको छ । यसअघि सन् २००८ को अक्टोबरमा तात्कालिक महासचिव बान कि मुन नेपाल आएका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि भएको निर्वाचनबाट त्यतिबेला माओवादीको सरकारमा पुगेको थियो ।

संयुक्त राष्ट्रसङ्घसँग नेपालको साइनो खास गरी शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्तिप्रक्रिया अनि अन्य आर्थिक–सामाजिक विकासका मुद्दाका कारण गहिरो गरी जोडिएको छ ।