सुन तस्करी छानबिनका लागि गठित जाँचबुझ आयोगद्वारा काम सुरु

१८ आश्विन २०८०

१८, असोज, स्वच्छखबर, काठमाडौँ।  सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम थालेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आयोगले कार्य प्रारम्भ भएको जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष आचार्यले आयोग गठन गरी जिम्मेवारी दिएकोमा मन्त्रिपरिषद्लाई धन्यवाद ज्ञापन गर्दै कार्यादेश अनुसारको कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आचार्यले आयोगको कार्यक्षेत्रसँग सम्बन्धित ७ विषयमा तथ्यगत जानकारी एवं सुझाव प्राप्तिका लागि कार्तिक १६ गते भित्रको समयसीमा निर्धारण गरी सञ्चारका विभिन्न माध्यमहरूबाट सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुन तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गर्ने निर्णय गरेको थियो । आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेका छन् ।