प्रतिशोध आक्रमण गर्ने भन्दै इजरायलद्वारा गाजाबासीलाई घरबाट भाग्न चेतावनी

२१ आश्विन २०८०

२१ असोज, स्वच्छखबर, इजरायल ।  इजरायलले गाजामा बसिरहेका मानिसहरूलाई शनिबार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ । हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरायलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन् ।

दक्षिण इजरायलमा साइरनका आवाजहरू सुनिएका छन्। हमासले आफूले इजरायलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ । इजरायली सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएको छ । इजरायलले हमासको आक्रमणमा तीनसय भन्दा बढी मानिस मारिएका जनाएको छ। गाजामा ज्यान गुमाउनेको सङ्ख्या २३० भन्दा बढी पुगेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उदृत गर्दै गाजामा इजरायलले विद्युत, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ । इजरायली अधिकारीहरूले बिजुली काटिदिएपछि शनिबार राति नै गाजा अन्धकार बनेको थियो ।

इजिप्टसहित इजरायलले सुरक्षाको कारण देखाउँदै सन् २००७ यता गाजा स्ट्रिपमा नाकाबन्दी लगाएको छ । गाजाबाट प्रहार गरिएका रकेट निस्तेज पार्न इजरायलले डोम एन्टी मिसाइल प्रविधिको प्रयोग गर्दै आएको छ । हमासले इजरेलको दक्षिणी क्षेत्रमा शनिबार घुसपैठ गरेको थियो र त्यसयता उसले ३०० भन्दा बढीको हत्या गरेको छ ।

यसैबीच संयुक्त राज्य अमेरिकाको हवाई सेवा नियामक निकायहरूले इजरायली हवाई क्षेत्रमा उडान भर्दा ‘एकदमै सावधानी’ अपनाउन अमेरिकी वायुसेवा र विमान चालकहरूलाई अनुरोध गरेको छ।