इजरायलले गाजामा पानीको आपूर्ति रोक्यो, दक्षिणी समुदायहरू पुनः नियन्त्रण गरेको सेनाको दाबी

२२ आश्विन २०८०

२२ असोज, स्वच्छखबर, काठमाडौँ । इजरायलले गाजामा पानीको आपूर्ति बन्द गरेको छ । इजरायलका रक्षामन्त्रीले गाजापट्टि पूर्ण घेराबन्दी गर्न आदेश दिएकाे केही समयमै इजरायली सेनाले गाजामा पानीको आपूर्ति बन्द गराएको बीबीसीले जनाएको छ ।

इजरायलले गाजामा विद्युत्, खाद्यान्न लगायतको आपूर्ति पनि बन्द गर्ने जनाएको छ । इजिप्टले युद्ध शुरु हुनु अघिदेखि नै गाजामा पूर्ण नाकाबन्दी गरिरहेकोले अब गाजा क्षेत्रमा जीवनयापनका आधारभूत वस्तुहरू पनि बन्द हुनेछ ।

इजरायलको रकेट आक्रमणबाट गाजाका धेरैजसो भवनहरू भत्किएकाले त्यहाँका एक लाख २३ हजार जनाभन्दा धेरै मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । उनीहरूलाई सेल्टरमा राखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

गएकाे शनिवार बिहान प्यालेस्टिन विद्रोही समूह हमासले एक्कासी इजरायलमा रकेट र स्थलगत आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । अहिलेसम्म दुवैतर्फ गरी १२ सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायलतर्फ सात सयभन्दा धेरै र प्यालेस्टिनतर्फ पाँच सयभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

यसैबीच हमासको युद्धलाई समर्थन गर्दै इस्लामबादी लडाकु समूह हिजबुल्लाले लेबनानबाट उत्तरी इजरायलमा रकेट आक्रमण शुरु गरेको छ । अहिले उत्तरी इजरायलका सीमा क्षेत्रका सहरहरूमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ ।