सम्पत्ति शुद्धिकरण विधेयक कानुन समितिबाट पारित

२४ आश्विन २०८०

२४ असोज, स्वच्छखबर, काठमाडौं । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकलाई पारित गरेको छ । बुधबार बसेको समितिको बैठकले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको हो ।

उक्त विधेयकका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदनका केही विषयलाई संशोधनसहित पारित गरिएको समिति सभापति विमला सुवेदीले जानकारी दिइन्। विधेयकको दफा १८ को उपदफा २ का उल्लेख सहकारीमा व्यक्तिगत बचतको सीमा सम्बन्धी व्यवस्थालाई हटाउने उनले बताइन् ।

समितिले क्यासिनो सञ्चालनका लागि ५ किलोमिटरको दूरी तोक्ने व्यवस्थासहित विधेयकलाई अन्तिम रुप दिएको हो । यसअघि ३ किलोमिटरको सीमा थियो ।

समितिले विधेयमाथि दफाबार छलफल गरी प्रतिवेदन तयार पार्न एक महिनाअघि ११ सदस्यीय उपसमिति गठन गरेको थियो। त्यो उपसमितिले मंगलबार प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने समितिको तयारी छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरी राष्ट्रपतिले प्रमाणीकरण गरेपछि प्रस्तावित व्यवस्थाले कानुनी मान्यता पाउनेछ ।