नेपालले प्राविधिक, वैज्ञानिक एवम् युगसापेक्ष प्रविधिको विकासमा लगानी बढाउनुपर्छ: राष्ट्रपति पौडेल

२४ आश्विन २०८०

२४ असोज, स्वच्छखबर, काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवम् व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताउनुभएको छ ।

काभ्रेको धुलिखेलमा रहेको काठमाडौ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन गर्नुहुँदै उहाँले भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प नभएको बताउनुएको हो ।

भवनको उद्घाटन गरिरहँदा मुलुकको लागि अनुसन्धान तथा नविन प्रविधिको सुरुवात भएको एक ऐतिहासिक क्षण भएको बताउनुहुँदै नेपालको प्राज्ञिक वातावरणमा प्रतिष्ठापूर्ण साख स्थापित गरेको काठमाडौं विश्वविद्यालयको मातहत र व्यवस्थापनमा सो केन्द्र रहनुले यसले निरन्तर र फलदायी सञ्चालनको आधार पाएको अनुभूति भएको र त्यबसाट समग्र मुलुकले लाभ पाउने उहाँले बताउनुभयो ।

मानव मस्तिकको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृतिम विद्वताले मानव सभ्यताका सामू खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्नका लागि मानावतामैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान, नवप्रर्वतन र प्रविधिका परिपूरक सहकार्यका अतिरिक्त वातावरण र मानवतासँग अन्योन्याश्रित सहसम्बन्ध हुनु अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

नेपालकै प्रविधि र नवप्रवर्तनका लागि नमूना आधुनिक केन्द्रका रुपमा स्थापित सो केन्द्रले यी सबै पक्षमा महत्वपूर्ण यागदान गर्नेमा विश्वस्त रहेको उहाँले बताउनुभएको छ ।

सो केन्द्रमा स्थापित कृषि, स्वस्थ्य र ऊर्जासम्वद्ध तीनवटा नै विशिष्टिकृत खोज–अनुसन्धान इकाईहरुले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति र आलेखहरू प्रकाशित गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि उत्तिकै योगदान गर्नसक्नु पर्नेमा उहाँले जोड दिनुभएको छ ।

जनसांख्यिक लाभमा रहेको मुलुकले करिब ६२ प्रतिशत आर्थिक रुपमा क्रियाशील हुने जनसंख्यालाई नवप्रवर्तन केन्द्र मार्फत इन्क्युवेशन सेन्टर चलाएर स्टार्टअपमा बिउ, पूँंजी उपलब्ध गराइ उद्यमशीलताको विकास गर्न सकिने भएकाले उद्यमशीलता विकासशील अर्थतन्त्रको महत्वपूर्ण आधारशीलाबाट जागरि खोज्ने नभई जागिर दिने जनशक्ति उत्पादन गर्न सकिने बताउनुभएको छ ।

कोरिया आफैँ द्रुतगतिमा आर्थिक–सामाजिक विकासको उपल्लो उचाई हासिल गर्ने थोरै उदाहरणीय मुलुकहरुमध्ये एक रहेकोमा मित्रराष्ट्र कोरिया र विकास सहायता प्रदान गर्ने निकाय ‘कोइका’ले नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर महत्वपूर्ण योगदान पुगेको गरेको राष्ट्रपति पौडेलले बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तईयोङले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले गणतन्त्र कोरिया र नेपालबीचको स्थायी मित्रता र सहयोग सम्बन्धि प्रतिकको रुपमा प्रतिनिधित्व गरेको बताउनुभएको छ ।

सो अवसरमा उहाँले सन् २००७ देखि कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत हाल सम्म कोरियामा १ लाखभन्दा बढी नेपाली आप्रवासी कामदारले सेवा सुविधाका हिसाबले कोरियाली नागरिक सरह समान हैसियतमा काम गरिसकेको अवस्था रहेको बताउँनुहुँदै सन् २०२६ मा अल्पविकसित श्रेणीबाट उत्तीर्ण हुने योजनका साथ अगाडी बढेको नेपाललाई कोरियाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भवनको लागत ४० करोड भन्दा बढी रहेको र जसमा २२ करोड भन्दा बढीको उपरकरणहरु रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरका निर्देशक राजेन्द्र ज्ञवालीले बताउनभुयो ।

सो क्रममा राष्ट्रपति पौडेलले सेन्टर र त्यसभत्रि रहेको अत्याधुनिक उपकरणहरुको अवलोकन गर्नुभएको थियो ।।