एसीसी यू-१९ कप क्रिकेटः इरानमाथि नेपालको फराकिलो जित

२५ आश्विन २०८०

२५ असोज, स्वच्छखबर, काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई दुई सय ७४ रनको फराकिलो अन्तरले हराएको छ ।

मलेसियामा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो ।

लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३० दशमलव ५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सक्यो । नेपालले दिएको बलियो लक्ष्य पछ्याएको इरानका ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए ।

उनले ५ छक्का र १ चौका प्रहार गरे । उनी आकाश चन्दको बलमा लङ अनका फिल्डर मिलन बोहोराको हातबाट क्याच आउट भए । नेपालले अर्को खेल आइतबार बहराइनसँग खेल्नेछ । त्यसपछि नेपालले अक्टोबर १९ मा साउदी अरेबियाको सामना गर्नेछ ।