कोशी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत शनिबार

२६ आश्विन २०८०

२६ असाेज, स्वच्छखबर, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति अघि समर्थन गर्ने प्रदेश सांसदहरूको सनाखत गरिने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिअघि दाबी पेस गरेका उम्मेदवारहरूलाई समर्थन गर्ने सांसदहरूको सनाखत गराउने भएका हुन् । सांसदहरूको सनाखत शनिबार (भोलि) बिहान ८ बजेदेखि २ बजेसम्म गरिने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभा सदस्यहरूलाई सनाखतका लागि आउँदा परिचय खुल्ने परिचयपत्र साथमा लिएर आउन प्रदेश प्रमुखको कार्यालयले आग्रह गरेको छ ।

कोशीको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र कांग्रेस सांसद केदार कार्कीले दाबी पेस गरेका छन् । मुख्यमन्त्रीमा दाबी पेस गरेका आङ्बोलाई सत्ता गठबन्धनका दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन छ ।