उपप्रधानमन्त्री श्रेष्ठ बीआरआई फोरममा भाग लिन चीन प्रस्थान

२९ आश्विन २०८०

२९ असोज, स्वच्छखबर, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)मा सहभागी हुन सोमबार चीन प्रस्थान गरेका छन् ।

मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चुको नीति र प्रगतिबारे समेत छलफल हुनेछ । सो कार्यक्रममा श्रेष्ठले मुख्य वक्तव्य दिनेछन् ।

सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवं पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत् छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए ।

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि चिनफिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री श्रेष्ठ सहभागी हुनेछन् ।

भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल लगायत छन् ।