‘अबको चुनावमा कांग्रेसले गठबन्धन गर्दैन,गर्यो भने पार्टी एक रहन्न’ : महामन्त्री थापा

२ कार्तिक २०८०

२ कार्तिक स्वच्छखबर, काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् ।

बिहीबार प्रेस युनियन काठमाडौंले बत्तीसपुतलीमा आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अबको चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन गर्न नहुने बताएका हुन् । ‘अबको चुनावमा कांग्रेसले गठबन्धन गर्दैन, गर्यो भने पार्टी एक रहन्न,’ उनले भने।

बागमती प्रदेशका केही कांग्रेस सांसदहरूले माओवादीलाई मुख्यमन्त्री फेर्न भनेर आफूलाई भेट्न आएको पनि उनले बताए ।

‘बागमती प्रदेशका केही का‌ंग्रेस सांसद मलाई भेट्न आए। माओवादीलाई मुख्यमन्त्री मान्न सकिन्न सरकार फेरौं भन्नुभएको छ। म यो काम गर्दिनँ, सभापति र शेखर कोइरालालाई भेट्न भनेको छु,’ थापाले भने ।

कोशी प्रदेशमा भएको घटनाक्रमबारे उनले सभापति शेरबहादुर देउवा आफैं जिम्मेवार हुनुपर्ने बताए । अँध्यारो कोठामा बैठक गरी निर्णय गरेकाले अब फोहोर पनि आफैंले उठाउनुपर्ने भनेर हात जोडेर देउवासँग भनेको पनि उनले बताएका छन् ।

‘सभापति देउवालाई हात जोडेर भनेको छु, आफू अँध्यारो कोठामा बैठक गरेर निर्णय गर्ने गर्नुहुन्छ । अब फोहोर पनि आफैं उठाउनुस्,’ उनले भने ।