जनतामाथि अब कुनै प्रकारको घात हुनु हुँदैन, हाम्रो यही चाहना होः पूर्वराजा शाह

३ कार्तिक २०८०

३ कार्तिक स्वच्छखबर,काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान व्यवस्थाप्रति प्रश्न उठाउँदै परिवर्तनले राम्रो गरेको नदेखिएको बताएका छन् । बडा दसैँको उपलक्ष्यमा शुभकामना दिँदै पुर्वराजा शाहले देशको दुरावस्थाप्रति चिन्ता व्यक्त गर्दै अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको बताएका हुन् ।

उनको शुभकामना सन्देशमा भनिएको छ, ‘डेढ दशकको अवधिमा जनता उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन्। हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्यो न त सुधार आयो। हाम्रो देश झन् झन् खराबीतिर गयो भन्ने आम जनगुनासो सुनिन्छ।’

उनले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनुपर्नेमा  जोड दिएका छन्।