अझै २० वर्ष राजनीतिमै हुन्छु,७ र २ सत्ताइस जस्तो लाग्छ : केपी ओली

१३ कार्तिक २०८०

१३ कार्तिक स्वच्छखबर,गण्डकी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा रहने बताएका छन् । सोमबार पोखरामा एमाले गण्डकी प्रदेशको शपथग्रहण समारोहमा अध्यक्ष ओलीले आफूले अहिले पनि देनिक १८ घण्टा काम गर्ने गरेको बताए ।

आफ्नो सक्रियतालाई जोड्दै अध्यक्ष ओलीले आफूलाई ७ र २, सत्ताइस जस्तो लाग्ने बताए । अध्यक्ष ओली अहिले ७२ वर्षका भएका छन् ।

उनले आफूलाई बद्नाम गर्ने नियतका साथ कम्बोडियाको दूरसञ्चार कम्पनीमा तीन हजार करोड रुपैयाँ लगानी गरेको हल्ला फैलाइएको बताए । उनले भने, ‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने पत्ता लगाउनुस् । धेरै त भन्दिनँ, एक हजार रुपैयाँ थपेर तपाईंकै नाममा गर्दिन्छु ।’

ओलीले कम्बोडियाको दूरसंचार कम्पनीमा लगानी गरेको विषयमा केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आरोप लगाएका थिए । अध्यक्ष ओलीले प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्रीसँग सहयोग मागेको भन्ने समाचारको खण्डन गरेका छन् ।

उनले भने, ‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ । त्यो गलत हो । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन ।’

उनले आफ्नो २७ रोपनी जग्गा सिमरामा, ३७ रोपनी जग्गा गठ्ठाघरमा रहेको भन्दै बदनाम गर्ने काम भएको बताए । उने यो सबै नेकपा एमालेलेलाई बदनाम गर्नका लागि गरिएको प्रपञ्च भएको बताए ।