बाबुले छोरीलाई ‘बन्धक’ बनाएपछि ह्याम्बर्ग विमानस्थलमा उडान अवरूद्ध

१९ कार्तिक २०८०

१९ कार्तिक स्वच्छखबर,काठमाडौँ  । हतियार र विस्फोटक पदार्थले सुसज्जित एक बाबुले आफ्नो छोरीलाई ह्याम्बर्ग विमानस्थलमा बन्धक बनाएर राखेको भन्दै उनलाई छुटाउन प्रयास गरिरहेको जर्मनीका प्रहरी वार्ताकारहरूले बताएका छन् । पैँतीस वर्षीय ती व्यक्तिले टर्किस एयरलाइन्सको विमानको आडमा आफू र आफ्नो कारमा रहेकी बच्चीलाई जहाजमा चढ्न अनुमति दिन माग गर्दै अवरोध गरेका छन् ।

प्रहरीका अनुसार उनले शनिबार साँझ आफ्नो कारलाई सुरक्षा क्षेत्र हुँदै विमान पार्किङ गरिएको एप्रोनमा ठोक्काएर हावामा दुई राउण्ड गोली हानेका थिए भने दुई वटा जलेका बोतल गाडीबाट बाहिर फ्याँकेका थिए ।

“हाम्रा वार्ताकारहरू अझै सम्पर्कमा छन्,” प्रहरीले एक्स (ट्वीटर)मा भनेको छ, “टर्कीका नागरिक रहेका ‘अपहरणकारी’सँग वार्ता भएको छ ।”

“हाम्रो जानकारी अनुसार अहिले अवरोधकर्तासँग लोड गरिएको हतियार र विस्फोटक पदार्थ रहेको अनुमान गरिएको छ,” प्रहरीले भनेको छ ।

दैनिक बिल्ड पत्रिकाका अनुसार टर्कीको नागरिक बाबुले सुरुमा आफ्नी छोरीलाई लिएर टर्की जान पाउनुपर्ने माग गरेका थिए ।
प्रहरी प्रवक्ता सान्ड्रा लेभ्रुएनले क्षेत्रीय टेलिभिजन च्यानल एनडीआरसँग भनिन्, “बच्चा शारीरिक रुपमा स्वस्थ छन् भन्ने हामीलाई पूर्ण विश्वास छ ।”

“म बाबुको मानसिक अवस्थाबारे कुनै शङ्का गर्न सक्दिन,” प्रहरी प्रवक्ता लेभ्रुएनले भनिन् । “हामी बाबुसँग निरन्तर कुरा गरिरहेका छौं”, उनले थपिन्, “शान्तिपूर्ण समाधान खोज्ने प्रयास गरिरहेका छौं ।” प्रहरीले मनोचिकित्सक र वार्ताकारको टोली का साथै र्यापिड रेस्पोन्स युनिट पनि तयारी अवस्थामा राखेको छ ।

अधिकारीहरूका अनुसार बच्चाको हिरासतको विषयमा भएको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ र चालककी श्रीमतीले आपतकालिन फोन गरेर आफ्नो बच्चाको ‘अपहरण’बारे प्रहरीलाई सचेत गराएकी थिइन् ।

“हामी आपतकालीन सेवाहरूको ठूलो टोलीको साथ घटनास्थलमा छौं । हामी अहिले बन्धकमा लिने व्यक्तिसँग एक स्थिर अवस्थामा छौं,” प्रहरीले उत्तरी शहरबाट एक्स (ट्वीटर)मा घटनाबारे जानकारी दिँदै यसपहिले नै जानकारी गराएको थियो ।

लेभ्रुएनले बुबा लामो समयसम्म अधिकारीहरूको सम्पर्कमा रहनु ‘धेरै राम्रो सङ्केत’ भएको बताइन् । आइतबार बिहान विमानस्थल व्यवस्थापनले एक्समा पोस्ट गर्दै भनेको छ, “प्रहरी अपरेसन जारी छ, अर्को सूचना जारी नभएसम्मका लागि हवाई यातायात स्थगित गरिएको छ ।

घटनाका कारण शनिबार साँझ ह्याम्बर्गमा अवतरण गर्ने तय भएका १७ वटा उडानलाई डाइभर्ट गरिएको थियो । आइतबारका लागि ३४ हजार ५ ०० यात्रुको २८६ उडानमार्फत् आवागमन हुने तालिका छ ।