एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

२३ कार्तिक २०८०

२३ कार्तिक स्वच्छखबर, हेटौँडा । अखिल नेपाल फुटबल संघ(एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

बिहीबार हेटौंडामा आयोजित विशेष साधारणसभामा नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो । मतदानमा ५२ जनाले अविश्वासको प्रस्तावको विपक्षमा मत दिँदै अध्यक्षबाट नेम्वाङलाई हटाउन नहुने मत व्यक्त गरेका छन् ।

अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्षमा रहेका भनिएका ३४ मतदाताले भने मतदान प्रक्रिया नै बहिष्कार गरेका छन् । एन्फाका कूल ८७ मतदातामध्ये ५३ जनाले मतदानमा सहभागिता जनाएका थिए ।  एक मत बदर भएको थियो ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।