श्रीलङ्काकै स्थितिमा मुलुक पुग्छ कि भन्ने त्रासबाट अर्थतन्त्रलाई उद्धार गरेका छौँ : प्रधानमन्त्री

२५ कार्तिक २०८०

२५ कार्तिक स्वच्छखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकार तथा पार्टीमार्फत गणतन्त्र र सङ्घीयता जस्ता उपलब्धिको रक्षाका लागि नयाँ अभियान थालेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) द्वारा शनिबार कीर्तिपुरमा आयोजित ‘कीर्तिपुरका जनता’ विषयक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री दाहालले विगतबाट शिक्षा लिँदै जनतामा आशा जगाउने कार्य गर्न थालेको बताए ।

“विगतमा निष्ठाबाट विचलित हुँदा र पार्टी विभाजन हुँदा फेरि प्रतिक्रान्तिले टाउको उठाउने र अहिलेको परिवर्तनलाई उल्ट्याउने सपना देख्न थाले । त्यसपछि नयाँ ढङ्गले जानुपर्ने भएकाले पार्टीले देशभर अभियान सञ्चालन गरेको हो”, उनले भने । यसक्रममा आफू तेस्रोपटक प्रधानमन्त्री भएपछि देशको अवस्थामा देखिने गरी परिवर्तन गर्न विशेष रुपले लागिपरेको उनले बताए ।

सरकारले वैदेशिक रोजगारीमा गएका करिब चार लाख श्रमिक र अनौपचारिक क्षेत्रमा रहेका हजारौँ श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने कार्य गरेको प्रधानमन्त्री दाहालले बताए ।

यसैगरी सरकारले नक्कली भूटानी शरणार्थी प्रकरण, भूमाफियालाई असफल पार्ने कार्य तथा तस्करीको जालो हटाउने कार्यको सुरुवातबाट ‘अब चाहिँ केही हुन्छ’ भन्ने कुराको अनुभूति जनतालाई दिने कार्य गरेको उनले उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घका महासचिवबाट हालै भएको नेपाल भ्रमणको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय मञ्चहरुमा मौसम परिवर्तनप्रति विश्वकै ध्यानाकृष्ट गरेपछि उक्त भ्रमण सफल भएको बताए ।

मौसम परिवर्तनको सन्दर्भमा नेपालको हक स्थापित गर्न सरकार सफल भएको उनको भनाइ थियो । सरकारको मेहेनतको फलस्वरुप मुलुकको आर्थिक अवस्था क्रमशः सुधार हुँदै गएको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

“श्रीलङ्काकै स्थितिमा मुलुक पुग्छ कि भन्ने त्रासबाट अर्थतन्त्रलाई उद्धार गरेका छौँ”, उनले भने । पछिल्लो समय विगत सय वर्षको विद्युत् उत्पादनभन्दा बढी हुने गरी १० हजार एक सय मेगावाटको कर्णाली–चिसापानी परियोजना अघि बढाउने तथा मूलपानी, भरतपुर र विराटनगरका क्रिकेट रङ्गशाला निर्माण अघि बढाउने र निजगढको विमानस्थल तथा द्रुतमार्गका काम अघि बढाउने पनि सरकारले निर्णय गरेको उनले बताए ।

कीर्तिपुरवासीको जिज्ञासा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले पहिलो पटक २०६४ मा कीर्तिपुरबाट जितेर प्रधानमन्त्री भएका बेला गर्न नसकिएका कतिपय काम यसपटक गर्नका लागि पहल गरिरहेको बताए । कीर्तिपुरका स्ववासी जग्गा दर्ता, लायकु दरबार पुनःनिर्माण, सार्वजनिक जग्गा संरक्षणलगायत कार्य गर्न विशेष पहल गरिने उनले बताए ।