हमासले बन्धक बनाएका एकै परिवारका १३ जनालाई आज रिहा गरिने

८ मंसिर २०८०

८ मंसिर स्वच्छखबर, काठमाडौं । गाजा युद्धविराम र बन्धक रिहाई आज बिहान शुरु हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । युद्धविराम आज बिहान ७ बजेदेखि शुरु हुने र नागरिक बन्धकहरूको पहिलो समूहलाई आजै ४ बजेसम्म हस्तान्तरण हुने प्रवक्ता माजेद अल–अन्सारीले जानकारी दिएका छन् ।

शुरुमा १३ जनालाई रिहा गरिने र ती सबै महिला र बालबालिका एउटै परिवारका रहेका छन् । प्रवक्ताका अनुसार प्रत्येक दिनमा चार दिन भित्र सहमति भएका जम्मा ५० जनालाई रिहाइ गरिने छ ।

गत अक्टोबर ७ देखि युद्धमा रहेका इजरायल र हमासले बुधबार चार दिने युद्धविरामको क्रममा कम्तिमा ५० बन्धक र सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा सहजीकरण गरिएको यो सम्झौता विस्तार र फराकिलो हुन सक्ने बताइएको छ । यो सम्झौता गाजामा रहेका २४ लाख जनतालाई सहायता प्रदान गर्ने उद्देश्यले पनि प्रेरित छ । इजरायली अधिकारीहरूले लगभग १ हजार २ सय जना मारिएका र लगभग २ सय ४० जनालाई बन्धक बनाएको बताएका छन् ।