शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेमाथि सरकारले धरपकड गरेकोमा अध्यक्ष लिङ्देनको आपत्ति

८ मंसिर २०८०

८ मंसिर स्वच्छखबर, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेमाथि सरकारले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले शान्तिपूर्ण ढंगले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने मौलिक हक विपरीत काठमाडौंमा सरकारले धरपकड गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन् । धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैन। सरकारले आफूलाई तत्काल सच्याओस् !’

काठमाडौंको तीनकुनेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले आन्दोलन बताएपछि प्रहरीले धरपकड गरेको छ ।