च्याँखे दाउ नथाप्नुस् महाराज, मैदानमा आउनुस्, कांग्रेस भिड्न तयार छः गगन थापा

९ मंसिर २०८०

९ मंसिर स्वच्छखबर,गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन् । शनिबार गुल्मीको तम्घासमा पार्टीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले धर्मको आडमा राजनीति नगर्न पूर्वराजालाई चेतावनी दिएका हुन् ।

उनले नेपालमा राजतन्त्र कसैले फालेको नभई आफ्नै कारणले गएको बताए । उनले भने, ‘राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसले प्रस्ट भन्ने हो, राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए खालमा आउनुस् कांग्रेस भिड्न तयार छ ।’

महामन्त्री थापाले धर्म बचाउने ठेक्का राजाको नभएको बताए । थापाले भने, ‘मौका पाउँदाखेरि मन्दिरको मूर्ति बेच्नेहरूले तपाईं र मेरो धर्म बचाइदिन्छ ? तपाईं र मेरो धर्म त्यति कमजोर छ ?’

महामन्त्री थापाले राजा वीरेन्द्रको हत्या भएपछि छानबिन हुनुपर्ने माग गर्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि ढुंगा प्रहार भएको बताए । त्यस्तै ज्ञानेन्द्रले श्रीपेच पहिरिएपछि राजतन्त्रकाविरुद्ध नाराबाजी भएको कुरा भूल्न नहुने बताए ।