इस्लामिक समूहद्वारा मालीको सैन्य शिबिर कब्जा गरेको दाबी

१० मंसिर २०८०

१० मंसिर स्वच्छखबर, काठमाडौँ । अलकायदासँग सम्बद्ध एक इस्लामिक समूहले मालीको उत्तरी क्षेत्रमा रहेको एक सैन्य अखडा कब्जामा लिएको दाबी गरेको छ । मालीको सेनाले भने टिम्बुक्टु क्षेत्रमा रहेका सैन्य अखडामा भएको आक्रमणलाई प्रतिकार गरेको जनाएको छ ।

जमात नुसरत अल–इस्लाम वाल मुस्लिमीन (जेएनआईएम) ले आत्मघाती बम वाहनको सहायताले नियाफुन्के शिविरलाई नियन्त्रणमा लिएको समूहले आफ्नो अल–जलाका फाउन्डेसन नामक सञ्चार सञ्जालमार्फत् जनाएको छ ।

कट्टरपन्थी समूहलाई पछ्याउने अमेरिकी संस्था साइटले उक्त वक्तव्यलाई पुष्टि गरेको हो । इस्लामिक लडाकू समूहले युद्धमा दशौं सैनिक मारिएको वा घाइते भएको र दुई जनालाई पक्राउ गरिएको दाबी गरेको छ ।

उसले कब्जामा लिएको दाबी गरेका पाँच वटा बख्तरबन्द सवारी साधन, हातहतियार र गोलाबारुदसहितको फोटो सार्वजनिक गरेको छ । मालीको सेनाले उक्त आक्रमणलाई ‘सशक्त रूपमा प्रतिकार’ गरिएको जनाएको छ ।