सूर्यविनायक–रत्नपार्कमा द्रुत बस सेवा पुनः सुरु

१० मंसिर २०८०, आईतवार १६:१३

१० मंसिर स्वच्छखबर, काठमाडौं ।  सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चलन भएको छ ।

आजदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीन÷तीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।

“रत्नपार्क–सूर्यविनायक रुटमा ३६ बस सञ्चालन हुनेछन्”,उनले भने, “आज बिहान साँढे ८ बजेदेखि बस नियमित सञ्चालन गरिएको छ ।” यसअघि उक्त रुटको दुवैतर्फ गरी २५ बस सञ्चालन गरिएको थियो ।

आजदेखि पुनः सुरु भएको उक्त सेवा तीन÷तीन मिनेटको फरकमा सूर्यविनायकबाट रत्नपार्क बस प्रस्थान गरेका छन् । बस सेवा बिहान १०ः३० बजेसम्म र दिउँसो ३ः३० बजेदेखि ५ः३० बजेसम्म सञ्चालनका लागि तालिका बनाइएको महानिर्देशक रिजालले जानकारी दिए । उनका अनुसार द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बस थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको छ ।

यात्रुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि उक्त बस सेवा सुरु गरेको थियो । सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित गरिएको थियो ।

अन्य सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा लाग्ने गरेकामा द्रुत बसलाई ४५ मिनेट लाग्ने रिजालले दाबी गरे । माइतीघर, कोटेश्वर, जडीबुटीलगायत ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुत सेवाका बस रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने उनको भनाइ छ ।

रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसले जति भाडा लिन्छन् द्रुत बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभाग मीनभवनले जनाएको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.