हमासद्वारा इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण

११ मंसिर २०८०

११ मंसिर स्वच्छखबर, हमास । हमासले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको छ । इजरायल–हमास अस्थायी युद्धविरामको तेस्रो दिन थप १३ जना इजरायली, तीनजना थाई र एकजना रुसी बन्धक रेडक्रसलाई हस्तान्तरण गरेको हमासले पुष्टि गरेको छ ।

हमासले रेडक्रसलाई हस्तान्तरण गरेका रुसी नागरिकको इजरायलको समेत नागरिकता भएका कारण इजरायली सेनाले भने आफ्ना १४ जना नागरिक मुक्त भएको जनाएको छ । त्यसपछि इजरायलले समेत सहमति बमोजिम ३९ प्यालेस्टिनी बन्दीहरू रिहा गर्नेछ ।

यसअघि शनिबार इजरायलले अस्थायी युद्धविरामको तेस्रो दिन आफ्ना देशका थप १३ बन्धकहरू रिहा गरेको थियो । कतारले मध्यस्थता गरेको इजरायल–हमासबीचको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरायली बन्धकहरूको तेब्बर सङ्ख्यामा इजरायलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ ।

युद्धविराम बिहानदेखि लागू भएपछि शुक्रबार १३ जना महिला र बालबालिका बन्धकहरूको पहिलो समूह इजिप्ट हुँदै इजरायलतर्फ फर्किएको थियो ।