कोशी प्रदेशमा बजेट सहमतिअनुसार नआएको भन्दै एमालेको असन्तुष्टि

१२ मंसिर २०८०

१२ मंसिर स्वच्छखबर,विराटनगर । कोशी प्रदेशसभामा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेशसभा बैठकमा भएको छलफलमा बोल्ने क्रमम उनीहरुले असन्तुष्टि जनाएका हुन् ।

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्न ल्याइएको विधेयकप्रति एमाले र सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि पोखेका हुन् ।

मंगलबारको बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सासदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखको आसनमा रहेका इस्राइल मन्सुरीले एमाले उपनेता राम रानालाई बोल्न समय दिएका थिए । रानाले बजेट सहमतिअनुसार नआएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । उनले भने, ‘यो बजेट फेल भयो भने के हुन्छ भन्ने कुरा यो सरकारले सोचेको छ कि छैन?’

मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा अध्यादेशबाट आएको विनियोजन विधेयकलाई प्रतिस्थापन गर्ने विनियोजन ऐन २०८० गत शनिबार प्रदेशसभामा पेस गरेका थिए । अघिल्लो सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २३ गते जारी गरेको अध्यादेश बजेटमा ५० करोड रुपैयाँ थप गर्दै मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयक ल्याएका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बजेटमाथि एमाले संसदीय दलले गम्भीर असहमति जाहेर गरेको जानकारी दिए । कार्यक्रम पुस्तिकामा राखिएका कार्यक्रम र योजना हटाइएकामा उनले आफूहरुको असन्तुष्टि रहेको बताए । सत्तापक्षकी सांसद खिनु लङ्वा लिम्बूले विनियोजन ऐन २०८० मा उद्देश्य नभएको, प्राथमिकीकरण नगरेको टुक्राटुक्री योजना मात्रै आएको भन्दै असन्तुष्टि जनाइन् ।