उत्तराखण्डमा सुरुङभित्र फसेका ४१ मजदूरको १७ दिनपछि सकुसल उद्दार

१२ मंसिर २०८०

१२ मंसिर स्वच्छखबर, बीबीसी । १७ दिनदेखि भारतको उत्तरकाशीस्थित एउटा निर्माणाधीन सुरुङमा फसेका सबै ४१ जना मजदुरलाई मंगलबार साँझ बाहिर निकालिएको राज्य सरकारले जनाएको छ ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिहरूलाई भेटेका छन् । उनीहरूको उद्धार सुरु भएसँगै सुरुङ आसपासमा खुसियाली मनाइएको छ । सुरुङको प्रवेशद्वारमा एउटा अस्थायी क्लिनिक बनाइएको थियो र उद्धारलगत्तै उनीहरूलाई नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरूलाई तयार अवस्थामा राखिएको थियो ।

उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक–एक गर्दै निकालेका थिए । नजिकै गएको एउटा पहिरोका कारण ढुङ्गा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए। उनीहरू सबै जना सकुशल भएको ठानिएको छ ।

गत नोभेम्बर १२ देखि भारतको उक्त निर्माणाधीन सुरुङमा फसेका मजदुरहरूलाई बाहिर निकाल्नका लागि सुरुङमा पाइप जडान गर्ने काम केही घण्टाअघि सकिएको उक्त राज्यका मुख्यमन्त्रीले बताएका थिए ।

फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए । अधिकारीहरूले एउटा बेग्लै सानो पाइपमार्फत् भित्र फसेका ती मानिसहरूलाई अक्सिजन, खानेकुरा र पानी पठाइरहेका थिए ।

सुरुङभित्र नजिकै पहिरो आएपछि मजदुरहरू सुरुङमा थुनिएका थिए। उनीहरू कोही पनि घाइते नभएको बताइएको छ । फलामे रडहरू छिचोलेर अघि बढ्नुपर्ने तथा खुकुलो माटो र कडा चट्टान भएका कारण उनीहरूसम्म पुग्न उद्धारकर्ताहरूलाई समय लागेको थियो ।

अधिकारीहरूका अनुसार नोभेम्बर १३ मा स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो । उत्तरकाशी जिल्लामा निर्माणाधीन उक्त सुरुङ उत्तराखण्डका प्रसिद्ध तीर्थस्थलहरूलाई जोड्न यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्वाकाङ्क्षी राजमार्ग परियोजनाको अङ्ग हो ।

कतिपय हिमाल र हिमनदीहरू रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रसिद्ध तीर्थस्थलहरू छन् । मजदुरहरूले काम गरिरहेको अवस्थामा सिल्क्यारा सुरुङको मुखदेखि २ सय मिटरभित्रको भाग भत्किएको थियो । पहिरोले सुरुङको मुख थुनिएपछि त्यहाँ अक्सिजनको आपूर्ति पनि काटिएको थियो । तर घटना भएकै दिन राति वाकीटकी यन्त्रको माध्यमबाट सुरुङमा फसेका मजदुरहरूसँग सम्पर्क स्थापित भएको थियो ।