गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई पाँच लाख पुरस्कार दिने तयारी

१७ मंसिर २०८०

१७ मंसीर स्वच्छखबर, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरांतीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिनेगरि सरकारले कार्यक्रम ल्याउन थालेको बताएका छन् ।

नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग आइतबार मन्त्रालयमा भएको छलफल पश्चात मन्त्री किरांतीले यस्तो बताएका हुन् ।

उनले भने,‘भैरहवा र पोखराबाट जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्नेगरि हामी लागिरहेका छौं, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनाम स्वरुप प्रत्येक उडानमा ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं ।’

मन्त्री किरांतीले नेपाल वायुसेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताए। उनले भने, ‘हामीसँग अहिले जहाज कम छन्, अहिले जम्मा चारवटा मात्रै जहाज रहेकोले पनि केहि समस्या भएको छ तर, भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान नगरि हुँदैन ।’ पर्यटन व्यवसायीको सकारात्मक सहयोगले सरकारलाई काम गर्न सहयोग मिल्ने मन्त्री किरांतीले बताए।