मुलुकको कर्मचारीतन्त्रप्रति जनताको भरोसा छ, तर परिणाममुखी काम भएनः प्रधानमन्त्री
२० मंसीर स्वच्छखबर, पाटन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री दाहालले शासकीय सुधार गरेर समग्र कार्यपद्धतिमै परिवर्तन ल्याउन जरुरी रहेको बताएका हुन् ।
‘साना साना कामहरुमा सुधार गरेर ठूला लक्ष्यलाई सहयोग पुग्नेगरी काम गर्न जरुरी छ । हामीले तत्काल जनतालाई सेवा प्रवाह गर्नेमा सुधार गर्नु जरुरी छ । जनताले यो वाद र त्यो वादभन्दा पनि सेवा प्रवाहमा सुधारको अपेक्षा राख्छन् । जनताले प्रत्यक्ष रुपमा सेवा प्रवाहको अनुभूत गरेन भने राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रप्रति पनि भरोसा कमजोर हुँदै जान्छ’, प्रधानमन्त्री दाहालले भने ।
उनले तत्काल सेवा प्रवाह गर्ने कुरालाई केन्द्रित गरेर जनतालाई सेवा दिन सकिने गरी विद्यमान प्रणालीमा सुधारका लागि लाग्न पनि कर्मचारी संयन्त्रलाई आह्वान गरे ।
प्रधानमन्त्री दाहालले अरू देशका भन्दा हाम्रा कर्मचारी सक्षम छन् भन्ने लागेको भए पनि परिणाम निकाल्न भने नसकिरहेको अवस्था विद्यमान रहेको स्पष्ट गरे ।
उनले भने, ‘हामीले गर्न खोजिरहेका छौँ, गरिरहेका पनि छौँ तर हाम्रा कामबाट जनताले लाभ लिन सकिरहेका छैनन्, हाम्रो कार्यप्रणालीप्रति जनताको गुनासो छ । धेरै कुराको ‘ग्याप’ छ त्यसलाई समाधान गर्नेतर्फ यो अन्तरक्रिया कार्यक्रम केन्द्रित हुनेछ भन्ने विश्वास छ ।’
मुलुकको कर्मचारीतन्त्रप्रति जनताको भरोसा रहेकाले नै सानासाना कुरामा परिवर्तनको महसुस गरेर सेवा प्रवाहबाट नागरिकले सन्तुष्टि लिनसक्नुपर्ने प्रधानमन्त्री दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस्: