प्राधिकरणद्वारा १५ अर्ब २४ करोडको बिजुली भारत निर्यात

२२ मंसिर २०८०

२२ मंसीर स्वच्छखबर,काठमाडौँ । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत  जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो । प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि २० मङ्सिरसम्ममा रु १३ अर्ब २३ करोड ६७ लाखको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा छ ।

सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ । शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युत्को अधिकतम माग एक हजार सात सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए“अहिले विद्युत् उत्पादन र माग करिब करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युत् गृहहरुमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भने ।

“पिक समयमा आयात गर्दा विद्युत्को दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ, त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरुमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ”, उनले भने ।

उनले चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढेता पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको जानकारी दिए ।