एनसेलको शेयर खरिद बिक्री राजनीतिक नेतृत्वको साँठगाँठ र भरथेगमा मात्रै भएको छः महामन्त्री थापा

२२ मंसिर २०८०

२२ मंसीर स्वच्छखबर,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिद बिक्री रातारात नभएको बताएका छन् । शुक्रबारको राज्य व्यवस्था समितिको बैठकमा महामन्त्री थापाले यसमा राजनीतिक नेतृत्वको साँठगाँठ र भरथेर रहेको बताएका हुन् ।

उनले भने, ‘एनसेल प्रकरणमा म दाबी गर्छु यो रातारात भएको हैन । यसमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ र भरथेग नभइ यो भएको छैन ।’

उनले यसमा जतिसुकै प्रभावशाली भएर कसैले ढाकछोप गर्न खोजे पनि त्यसमा समितिले निष्पक्ष काम गर्नुपर्ने बताए । गत शुक्रबार मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो भागमा रहेको शेयर सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई ५ करोड डलरमा बिक्री गरेको सार्वजनिक भएको थियो ।

त्यसपछि सरकारले यसको छानबिनका लागि समिति बनाएको छ । त्यस्तै उच्च अदालत पाटनले शेयर बिक्री दर्ता नगर्न अन्तरिम आदेश नै दिइसकेको छ । शेयर खरिद बिक्रीमा राजनीतिक नेतृत्वको हात रहेको भन्दै दलका नेताहरुले नै बताउँदै आएका छन् ।